• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भूकम्प प्रभावित लाप्राकवासीलाई घरजग्गा हस्तान्तरण


  • खुला नेपाल
  • शुक्रबार, बैशाख १०, २०७८
  • 6.9K
    SHARES

गोरखा । भूकम्पपछिको पुनर्निर्माणका क्रममा तयार भएको सबैभन्दा ठूलो एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखाका धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्ती पुगेर लाभग्राहीलाई घर सुम्पनु भएको हो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले एकीकृत बस्तीका लाभग्राहीहरुलाई जग्गाधनी पुर्जा (लाजपुर्जा) पनि हस्तान्तरण गर्नुभयो ।

घर तथा पुर्जा हस्तान्तरणपछि बोल्दै ज्ञवालीले भूकम्प प्रभावित लाप्राकवासीलाई घर निर्माणमा सहयोग पु¥याएकोमा गैरआवासीय नेपाली संघ र संसारभरि छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृतले नमुना बस्तीमा होमस्टेलगायत दिगो जीविकोपार्जनका कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो । उहाँले बर्षात्को पानी निकास र ढल व्यवस्थापनलगायत पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था भइरहेको जानकारीसमेत दिनुभयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भूकम्प प्रभावित दाजुभाइलाई सहयोग गर्न पाउँदा संघआबद्ध सम्पूर्ण नेपालीलाई खुसी मिलेको बताउँदै लाप्राक एकीकृत बस्तीका जनताको जीवनस्तर माथि उठाउन संघले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा संघीय सांसद हरिराज अधिकारी, धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङ, प्राधिकरणका कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा, जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गोरखाका आयोजना प्रमुख रामशरण आचार्य, गैरआवासीय संघका उपाध्यक्ष सोनाम लामालगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो । प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको हो ।

एकीकृत बस्ती लाप्राक तस्बिरमा

प्रतिक्रिया