• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नेपाललाई ट्रान्जिट बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न निर्देशन


  • खुला नेपाल
  • आइतवार, बैशाख १२, २०७८
  • 4.8K
    SHARES

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरुको परीक्षण नगराउन आइतबार सूचना जारी गरेको छ ।

यसरी परीक्षण गर्न आएकाहरुबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ ।

त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियम अनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरुले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरु नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन् ।

त्यसरी आएका मानिसहरुले नेपालमा पनि पीसीआर परीक्षण गराउँदै आएका थिए ।

अब भने मन्त्रालयले त्यसरी नेपाललाई ट्रान्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको परीक्षण नगराउन सम्बन्धित सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो ।

साथै मन्त्रालयले नेपालबाट विदेश जानेहरुका लागि परीक्षण गर्न सरकारी अस्पताल र छ वटा निजी अस्पताल तोकेको छ ।

यसैबीच मन्त्रालयले आइतबारनै अर्को एक सूचनामार्फत सञ्चारकर्मीहरुलाई कोरोना भाइरसविरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने जो कोहीको समाचारलाई निरुत्साहित गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया