नारायण आचार्य
महाभारतको उद्योग पर्वको एक प्रसंगमा भगवान श्रीकृष्ण र महान त्यागी पात्रको रुपमा परिचित कर्णबीच गहन परामर्श भएको थियो । प्रसंगअनुसार भरसक जनधनको क्षति हुने युद्ध रोकी जेन्टलमेन्ट एग्रिमेन्टमार्फत नै दुवै पक्ष (कौरव र पाण्डब) को सहजकर्ता गर्ने उद्देश्यले कर्णलाई दुर्योधनको क्याम्पबाट अलग गराई पाण्डवको क्याम्पमा समाहित गर्ने असफल प्रयास गरिएको थियो ।
कर्णलाई पाण्डव क्याम्प प्रवेश गर्न तिमी (कर्ण) वास्तविक रुपमा कुन्तीकै छोरा हौ । कुन्तीको योगबलको आधारमा सूर्यद्वारा तिमी जन्मेका हौ । यस अर्थमा तिमी युधीष्ठिरका पनि दाजु हौ । अन्तत्वगत्व युद्ध भइहाल्यो भने सत्यकै विजय निश्चित छ । यस अर्थले तिमी भोलिका राजा हुनेछौं । युधिष्ठीर तिम्रा युवराज हुने छन् । अर्जुनलगायतका भाइहरुले तिम्रो सल्लाहकार भएर काम गर्नेछन् ।
त्यसैले तिमी आजकै मितिबाट अब कौरब क्याम्प होइन पाण्डव क्याम्प प्रवेश गर भन्दा कर्णबाट भने भगवान् श्रीकृष्णको उक्त प्रस्ताव अस्वीकार गरेको दृष्टान्त पाइन्छ । कर्ण अगाडि भन्छन्, मेरो हितका लागि तपाईको प्रस्ताव ठीक हो ।
धर्माअनुसार म कुन्तीकै छोरा हुँ कुन्तीले कन्या अवस्थामा योगबलको अधारमा सूर्यद्वारा जन्माइएको पुत्र पनि हुँ । तत्कालीन समाजको डरले मलाई कुन्तीले त्याग गरिन तर डुंगा चलाउने माझीमार्फत म दुर्योधन क्याम्पमा पुगँे । मेरो विश्वासमा दुर्योधन आज युद्धमा लम्किएका छन् । मैले दुर्योधनमार्फत राज्यको धेरै सुविधा लिएको छु । मैले नुनको सोझो गर्नै पर्छ । निकट भविष्यमा हुन गइरहेको महाभारत युद्धमा जित पाण्डवकै हुनेछ तर आफूलाई लालनपालन गर्ने क्याम्पवलाई विश्वासघात गरी अर्को क्याम्पमा र्ग राजा हुनुभन्दा आफ्नै क्याम्पको संरक्षण गर्नु नै उत्तम हुने भनी भगवान श्रीकृष्णद्वारा प्रस्ताव गरिएको जेन्टलमेन्ट एग्रिमेन्टलाई कर्णले अस्वीकार गरेको प्रसंग महाभारतमा उल्लेख छ ।
नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रम पनि उक्त महाभारत काण्डसित मेल खान्छ । वर्तमान परिवेशमा गत पुस ५ गते भारी बहुमत प्राप्त सरकारलाई तत्कालीन नेकपाकै जिम्मेवार तहका वरिष्ठ नेता गणहरुबाटै सैद्धान्तिभन्दा पदीय भागबण्डामै रहेर पार्टी तथा सरकारमा अवरोध सिर्जना गरियो । यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले अब नयाँ जनादेश लिउँ भन्दै संसद विघटन गरका थिए । सर्वोच्च अदालतको फैसलापश्चात संसद पुनर्बहाली त भयो ।
प्रतिनिधिसभा पुनर्बहालीसँगै सर्वोच्च अदालतले अर्को फैसला पनि गर्यो । सर्वोच्च अदालतको फागुन २३ को फैसलाले साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पनि ब्यूँताइदियो । सर्वोच्चको पहिलो फैसलाले संसद पुनर्बहाली भएसँगै नेतागणहरुले सार्वजनिक समारोह आयोजना गरेर गुलियो लड्डु खुवाउने खाने गरे । सो खुसियाली भनिएको समारोहमा तत्कालीन नेकपाका स्वघोषित अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले अब देश अनिर्णयको बन्दीबाट मुक्त भएको उन्मुक्त भाषण गर्नुभयो ।
पछिल्लो घटना क्रमले त्यतिबेलाको उहाँहरुको भनाइभन्दा ठ्याक्कै उल्टो भएको छ । उहाँहरुकै कुटिल भूमिकाका कारण मुलुक झन्झन् अनिर्णयको बन्दी बनेको छ । आफ्नो पार्टीले समर्थन दिएको सरकारका प्रधानमन्त्रीलाई समर्थनचाहिँ कायमै राख्दै राजीनामा दिन दबाब दिइएको छ । यसका लागि स्वदेशी राजनीतिक दल, अड्डा अदालत धाउनेमात्र होइन, विदेशी शक्तिलाई समेत गुहारेर प्रधानमन्त्रीलाई सत्ताच्यूत गराउने प्रपञ्च रचियो । यो जगजाहेर छ ।
यही क्रममा एउटा टेलिभिजन अन्तर्वार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलले त हामी..हामीको सरकार बन्दा फलानो राष्ट्रलाई ‘कम्फर्टटेबल’ हुन्छ भन्ने अभिव्यक्ति दिन भ्याउनु भयो । यसपछि अध्यक्ष दाहालको चरित्र र उहाँको वास्तविकता अनि उहाँ कसका लागि राजनीति गर्नुहुन्छ भन्ने कुरा उदाङ्गो भयो ।
तर नेकपा माले हुँदै एमालेको महत्वपूर्ण पदको जिम्मेवारी निभाउनु भएका पार्टीका वरिष्ठ नेता माधव नेपालको चरित्र पनि पुष्कमलको जस्तै उदाङ्गो हुन पुग्यो । नेपाल समयको धैर्य गर्न नसक्ने पात्रका रुपमा नेपाली राजनीतिमा देखा परेको छ । नेकपा एमालेमा अध्यक्ष ओलीपछि दोस्रो वरियतामा नेपाल नै हुनुहुन्थ्यो । उहाँ आउँदो महाधिवेशनमा अध्यक्षका प्रवल दावेदार पनि हुनुहुन्थ्यो ।
अघिल्लो महाधिवेशनमा कार्यकर्ताकै भोटबाट ओलीले भन्दा कम भोट प्राप्त गर्नुभएकै हो । आफ्नै पार्टीका नेता कार्यकर्ताले अबको तीन वर्ष पार्टी हाँक्ने जिम्मा ओलीलाई दिएकै हुन् । तर माधव कमरेडले तीन वर्ष कुर्न सक्नु भएन । पार्टीका नेता कार्यकर्ताको आदेश पालना गर्न सक्नुभएन र अस्थिर नेताका उपनाम प्राप्त पुष्पकमलको बहकाउमा लाग्नुभयो ।
सायद पछिल्लो सयम शक्तिको उत्कट महत्वकांक्षाका कारण उहाँले समानान्तर समिति गठन गर्दै हिंड्न थाल्नु भएको छ । ताकि आफूले जन्माएको हुर्काएको पार्टीको महाधिवेशनको निर्णयलाई कुल्चँदै । सर्वोच्चको संसद पुनर्बहालीमा खुसियाली मनाउँदै लड्डु खानुभएका माधव देशलाई किन अनिर्णयको बन्दीबाट मुक्त गर्न सक्नु भएन ? उतिबेला उहाँले त देश र जनतालाई केन्द्रबिन्दमा राखी महाभारतकालीन पात्र कर्णकै पथ प्रदर्शकमा रहेर आफ्नै पार्टी नेकपा एमालेलाई नै संरक्षण गर्नु उत्तम विकल्प थियो ।
तर माधव जहिल्यै पदका लागि आफ्नो पार्टीको उन्नति नचाहने शक्तिको बहकाउमा लाग्नुभयो । तथापि, उहाँले समानान्तर कमिटी गठन गरेर राम्रो गरेँ भन्दै हिडे पनि यो पार्टीका लागिमात्रै होइन, देश र जनताका लागि घातक भएको छ । यसले उहाँप्रति सम्मान होइन, उहाँको साख गिरेको पक्कै छ ।
अन्तमा, देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । परिवर्तनको नाममा महँगो शासन प्रणालीको पुनर्विचार गरिनुपर्छ । धर्मसंस्कृतिको संरक्षण गरिनुपर्छ । जनआवाज बमोजिम हालै प्रधानमन्त्रीबाट व्यक्त हिमवत खण्डको रहस्य, पशुपतिनाथमा पूजा तथा रामसीताको मूर्ति प्राणप्रतिष्ठा गरी चितवनको अयोध्यासम्म गरिएको रथारोहणले जनतामा मुलुकमा भयवह संकट आइपरेको बेला पनि थोरबहुत उत्साह जगाएको छ ।
यतिमात्रै होइन, अबका दिनमा प्रधानमन्त्री ओलीले संसदभित्रका शक्तिलाई मात्र होइन, संसद बाहिरका शक्तिलाई समेत मिलनबिन्दुमा ल्याउनेतर्फ लाग्नुपर्छ । यसले देश र जनतालाई केन्द्रबिन्दुमा ल्याउन सक्छ । देशभन्दा ठूलो केही होइन भन्ने ओलीको भावना जनजनमा घुसेको छ । यसबाटै ओली राजनेताका रुपमा स्थापित हुनुहुनेछ ।
आचार्य, समयसामयिक र राजनीतिक विषयमा कलम चलाउनुहुन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
