• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

श्रमिक र कर्मचारीको पारिश्रमिक पुनरावलोकन हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)


  • खुला नेपाल
  • शनिबार, बैशाख १८, २०७८
  • 9.6K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताउनु भएको हो ।

उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्‍याइने दाबी गर्नु भएको छ । यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने भएको छ ।

स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ । नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गर्नुभयो ।

उहाँले सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने बताउँदै दैनिक ज्यालादारी र करार सेवामा कार्यरत सरकारी सेवाका कामदार र कर्मचारीहरूबाट स्पष्ट पार्नु भएको छ ।

ओलीले एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’उपलब्ध गराएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको दाबी गर्नुभयो ।

खोप उपलब्ध गराउने प्रतिबद्धता

प्रधानमन्त्री ओलीले मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । उहाँले अहिले सरकार महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्थामा रहेको बताउँनुभयो ।

ओलीले कोरोनाविरुद्धको खोप सबैलाई छिट्टै खोप उपलब्ध गराउनेमा प्रतिबद्धता जनाउनुभयो ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया