दोलखा । जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पीसीआर परीक्षणका लागि प्रयोगशाला (Molecular Lab) शुरु भएको छ ।
दोलखाको भिमेश्वर नगरपालिकास्थित चरिकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरिएको हो । प्रयोगशाला चौबिसै घण्टा चलाउने हो भने ५०० सयसम्म स्वाब परीक्षण गर्ने क्षमता रहेको जनाइएको छ ।
आज दक्ष जनशक्ति समेत लगेर प्रयोगशालाको उद्घाटन गरेको बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा.नारायण बहादुर कार्कीले बताउनुभयो ।
सो प्रयोगशालामा दोलखा नजिकका दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट स्वाब संकलन गरेर ल्याउन सकिने कार्कीले बताउनुभयो ।
चरिकोटमा प्रयोगशाला शुरु गरिएसँगै बागमती प्रदेश अन्तर्गतका प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि धुलिखेल, नुवाकोट, भक्तपुर, हेटौंडा, सिन्धुलीमा प्रयोगशाला संचालनमा रहेको छ ।
प्रयोगशाला निर्देशक डा. कार्कीका अनुसार यो मेसिन संसारमै अहिलेसम्म बनेको राम्रो मानिने मध्येको मेसिन रहेको छ । यहाँ राखिएको मेसिनमा पीसीआर मात्रै नभई अरु विभिन्न रोगको पनि परीक्षण गर्न सकिने कार्कीको भनाइ छ ।
प्रयोगशालामा माइक्रोबाइलोजिस्ट सहितको जनशक्ति अहिले भए पनि पुग्ने जनशक्ति नभएकाले प्रदेश सरकारसँग माग गरिएको डा. कार्कीले बताउनुभयो ।
थप जनशक्ति प्रदेश सरकारले पठाउँछ –मन्त्री बस्नेत
बागमती प्रदेश, सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पीसीआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला संचालनमा ल्याएको बताउनुभयो ।
मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला संचालनमा ल्याएको र अहिले न्यूनतम जनशक्ति भए पनि थप जनशक्ति प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा संचालन गर्ने बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

