सुर्खेत । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकमा फक्रिइरहेका यी फूल नजिक पुग्दा भने लाग्छ, सुर्खेत त स्वर्ग नै हो कि ! अर्थात्, गुलमोहरले सुर्खेतलाई स्वर्गझैं सिँगारेको छ ।
यति बेला कोरोना महामारी नियन्त्रणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निषेधाज्ञा जारी गरिएको छ । सडकहरु प्राय शुन्य छन् । यिनै शुन्य सडक गुलमोहरका कारण झकिझकाउ छन् ।
सडकका दुई किनारामा लाईनबद्ध रोपिएका यि फुलले वीरेन्द्रनगरका सडकको शोभा नै फेरिएको छ । कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाएको छ ।
वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ । हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सुनसान सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ ।
फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । कुनै बेला यहीँ सिजनमा कुइनेपानी क्षेत्रको सडक छेउ फुलेको गुलमोहरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेको भीड लाग्ने गथ्र्यो ।
घण्टाघर–नगरपालिका खण्डमा यात्रा गर्ने जोकोही गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाउँदैन्थे । विगतमा ढकमक्क फुलेको गुलमोहरको बोटमुनि युवायुवतीको सेल्फीमोह पनि उत्तिकै देखिन्थ्यो ।
तर यो बेला कोरोना महामारीको दोस्रो लहरका कारण वीरेन्द्रनगरमा निषेधाज्ञा जारी छ । जसले गर्दा युवापुस्ताले आफै पुगेर गुलमोहरलाई यो पटक सामाजिक सञ्जालका प्लेट फर्महरुमा भाइरल गराउन पाएका छैनन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य






