काठमाडौँ । कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।
जहाज आज राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४ सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने छ ।
नेपाल सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने बताए पनि अहिले एक पटकका लागि मात्र सरकारबाट पत्र आएको प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले चीनबाट अक्सिजन सिलिण्डर ल्याउनका लागि भाडादर नतोकिएको बताउनुभयो । नेपाल एयरलाइन्सको ‘चाटर्ड रेट’ प्रतिघण्टा १५ हजार ५ सय २० डलर हो । यो अन्य व्यक्ति तथा संघसंस्थाका लागि तोकिएको भाडादर हो ।
चीनको बेइजिङ जान आउनका लागि ११ घण्टा ३५ मिनेट लाग्नेछ । यसले निगमले राखेको भाडा दर अनुसार अक्सिजन सिलिन्डर ल्याउनका लागि १ लाख ७६ हजार १ सय ५२ डलर लाग्ने छ । प्रवक्ता श्रेष्ठका अनुसार अहिले नेपाल सरकारसँग जहाज भाडा दर यति नै भनेर सम्झौता भएको छैन ।
सोही विमानबाट १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ । होङ्सी होल्डिङ ग्रुपको सहयोगमा अक्सिजन कन्सर्नट्रेटर ल्याउन लागिएको स्रोतले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
