काठमाडौं । अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री सहयोग आउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्व खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कूटनीतिक पहल गरेसँगै यस्तो जानकारी आएको हो ।
यसैक्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच बिहीबार टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाउन अमेरिकी राजदूत बेरीसित आग्रह गर्नुभयो ।
नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिकी सरकारको सहयोग चाहेको उहाँले बताउनुभयो । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको उपप्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायत विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्री सहयोग गरिने जानकारी दिनुभयो । तर, के के सहयोग गरिने भन्नेबारे आगामी आइतबारसम्म टुंगो लाग्ने उहाँको भनाइ छ । ‘खोपबारे मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु,’ उपप्रधानमन्त्रीलाई राजदूत बेरीले आश्वस्त पार्नुभयो ।
अमेरिकी राजदूत बेरीले हप्तामा दुईवटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले यस विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पाउने कोभ्याक्सअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउन सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
