• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

ओखती बोकेर संक्रमितका घर–घरमा उपमेयर पराजुली

‘नागरिकको जीवन बचाउने प्रमुख दायित्व भएकाले विकास निर्माणका कामलाई केही समय थाँती राखेर जनताको जीवनरक्षाको अभियानमा जुटेका छौं’


  • खुला नेपाल
  • बुधबार, जेष्ठ ५, २०७८
  • 7.8K
    SHARES

पथरी । कोरोना महामारीको प्रकोप तीव्र रुपमा बढेसँगै बेलबारी नगरपालिकाले आफ्ना गतिविधिलाई पनि सक्रिय बनाउँदै आएको छ ।
प्रदेशमै निखारिएको स्रष्टाको रूपमा परिचय कमाएकी नगरपालिका उपमेयर ढाकाकुमारी पराजुलीको नेतृत्वमा निर्मित स्वास्थ्य समूहद्वारा मंगलबार दिनभरिजसो बेलबारी नगरको यकिन स्वास्थ्योस्थिति बुझ्ने र स्थितिमाथि अद्यावधिक गरिएको छ ।

बेलबारी नगरपालिका आयुर्वेद शाखा निरीक्षक कुलानन्द यादवसहितको टोलीले नगरभित्रका संङ्क्रमितहरूलाई घर–घरमै पुगेर भेटेको हो । उनीहरूको मनोवल बढाउन विभिन्न खालका जीवनोपयोगी उपायबारे प्रशिक्षित गरिएको थियो ।

उपमेयरसहितको स्वास्थ्य टोलीले उलपब्ध विभिन्न प्रकृतिक आयुर्वेदिक ओखतीसमेत वितरण गरेको छ । जिल्लाको मध्यभागमा अवस्थित बेलबारी नगरपालिकाको कामले जिल्लाको कामलाई प्रभावित र आकर्षित तुल्याउन गरेको छ ।

नगरपालिका आयुर्वेद शाखा, आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरू न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको आयुर्वेद शाखा प्रमुख यादवले जानकारी दिनुभयो ।

यसअघि पनि शाखाले बेलबारी नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा पुगेर संक्रमितलाई सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै होम आइसोलेशनमा रहने थप संक्रमितहरूलाई पनि निरन्तर सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ उनले भने ।

बेलबारीमा अभियानकै रूपमा सञ्चालित औषधि वितरण कार्यक्रमअन्तर्गत कोरोना भाइरसको भयावह असरका कारण नागरिकहरूमा भयानक डर र त्रास सिर्जना भएकाले जनप्रतिनिधिहरू नै थप सक्रिय हुनुपर्ने नगरपालिका उपमेयर पराजुलीले बताउनुभयो ।

उपप्रमुख पराजुलीका अनुसार मानवीय संवेदनशीलताको यो घडीमा स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्न चुक्नु हुँदैन । ‘सहज परिस्थिति हुँदा आफ्नै बलबुतोले जीवन चलाउने नागरिकलाई विपतको बेला स्थानीय सरकार छ भन्ने पार्नुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘संक्रमितको आत्मविश्वासको आभास गराउन पनि जनप्रतिनिधि सङ्क्रमितको घरआँगनमा पुग्न जरूरी भएकै कारण हामी घर–घर पुगेके हौँ ।’

टेलिफोन संवादमा उठेको जिज्ञासा मेट्दै नागरिकको जीवन बचाउने हाम्रो प्रमुख दायित्व भएकोले विकास निर्माणका काम केही समयलाई पन्छाएर भए पनि नागरिक बचाउने अभियानमा लागिरहेको उहाँ बताउनुहुन्छ । बेलबारीमा औषधोपचार अभावकै कारण कुनै नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर हामी अहोरात्र खटेका छौँ र खटिरहने छौँ, उपमेयर पराजुलीले प्रतिबद्धता जनाउनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसका कारण बेलबारीमा यतिबेलासम्म १२३ जना सङ्क्रमित छन् । यसलाई बढ्न नदिने आफ्नो प्रयत्नले सार्थकता पाउने आश जागेकोमा खुशी व्यक्त गर्दैै पालिका सरकार र नागरिकबीचको सहकार्यप्रति आत्मसन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बेलबारीबाट भूमिप्रसाद पाठकको सहयोगमा

प्रतिक्रिया