सुर्खेत । कर्णाली प्रदेशभर कोरोनाविरुद्धको पहिलो डोज करिब एक लाख ८ हजार ४ सय ८६ जनाले लगाएका थिए । तीमध्ये ८६ हजारभन्दा बढी कर्णालीवासीले कोरोना भाइरसविरुद्धको खोप भिसिल्डको दोस्रो डोज लगाउन बाँकी नै छ ।
उनीहरुलाई कोरोनाको दोस्रो लहर तीव्र हुँदै जाँदा उक्त खोप लगाउनबाट वञ्चित भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म कर्णाली प्रदेशमा पहिलो चरणको खोप लगाएकामध्ये २१ हजार ७ सय ४२ जनाले मात्रै दोस्रो चरणको खोप पाएको बताइएको छ ।
निर्देशनालयका सूचना अधिकारी नोधनारायण चौधरीका अनुसार २६ हजार ९ सय ९० जनालाई पहिलो र दोस्रो डोज कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा ८० प्रतिशतले खोप लगाएको बताउनु भएको छ ।
‘पहिलो चरणको खोप लगाएकालाई दोस्रो चरणको लगाउने हो,’ उहाँ भन्नु हुन्छ, ‘केही जिल्लाबाट दोस्रो चरणको खोप लगाएकाको तथ्यांक आउन बाँकी रहेकाले यो संख्या अरु बढ्न सक्छ ।’
कर्णालीमा गत वर्ष माघ १४ देखि २४ गतेसम्म चलेको खोप अभियामा अग्रपंक्तिमा खटिएर काम गर्ने ९ हजार ४ सय ८४ जनाले लगाएको निर्देशनालयका सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो । पहिलो चरणमा कर्णालीका ११ हजार ७ सय ८० जनालाई पुग्ने खोप आएको थियो ।
यस्तै, फागुन २ देखि १० गतेसम्म पहिलो चरणमा छुटेका तथा दोस्रो प्राथमिकतामा रहेका गरी १७ हजार ५ सय ६ जनाले खोप लगाएको चौधरीको भनाइ छ ।
गत फागुन २३ देखि चैत २ गतेसम्म कर्णालीमा ६५ वर्षभन्दा माथिका ८१ हजार ४ सय ९६ जना ज्येष्ठ नागरिकले पहिलो चरणको खोप लगाएका छन् । हाल पहिलो डोज लगाएका धेरैजसो ज्येष्ठ नागरिकले दोस्रो डोज पाएका छैनन् ।
पहिलो चरणको खोप लगाएकामध्ये २० प्रतिशतले मात्रै दोस्रो डोज लगाएका छन् । कोभिसिल्ड खोपको पहिलो डोज लगाएको ४ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
