• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

उपत्यकाको निषेधाज्ञा ११ दिन थप, खाद्य पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाइने


  • खुला नेपाल
  • बुधबार, जेष्ठ १९, २०७८
  • 9.6K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई ११ दिन थप भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार भएको बैठकले निषेधाज्ञा ११ दिन थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा केही खुकुलो हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक थप गरिको निषेधाज्ञा जेठ २० गते (भोलि) मध्यरातिबाट सकिँनै लाग्दा जेठ ३१ गतेसम्म लम्ब्याइएको हो । अबको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, पुस्तक पसल बिहान ९ बजेसम्म खुल्न दिइनेछ ।

पूर्वाधार निर्माणका काम अनिवार्य स्वाथ्य मापदण्ड पालना गरी सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ । यस्तै, तरकारी, फलफूल, माछा–मासु, ग्यास पसल पसलहरु बिहानको समयमा खोल्न दिइनेछ ।

ढुवानीका सवारी–साधन राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइनेछ । सार्वजनिक र निजी सवारी–साधन भने चल्न दिइने छैन । निजी सवारीको हकमा अत्यावश्यक कामबाहेक आवतजावतमा लगाइएको प्रतिबन्ध यथावत छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड पालना गरी बिहान ९ बजेसम्म वर्कसप पनि सञ्चालन गर्न दिइनेछ ।

प्रतिक्रिया