काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नु भएको छ ।
प्रधानन्यायाधीश जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।
प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ चौथो नम्बरमा छन् । तर उनी संवैधानिक इजलासमा परेका छैनन् ।
श्रेष्ठ होम आइसोलेसनमा रहेकाले उनी पछाडिको वरियतामा रहेका खतिवडा इजलासमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
यसअघि संसद विघटनविरुद्धका रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्दा बरिष्ठताको क्रम मिचेको भन्दै प्रधान्यायाधीश जबराको आलोचना भएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश ल्याएसँगै सर्वोच्चमा त्यसविरुद्ध रिट परेको थियो ।
वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की र बालकृष्ण न्यौपाने लगायतले सर्वोच्चमा रिट दर्ता गर्नु भएको थियो । उक्त मुद्दाको आज नै सुनुवाइ गर्ने बताइएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
