• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

शून्य शहर !!


  • सुशीला शर्मा
  • आइतवार, जेष्ठ २३, २०७८
  • 25.3K
    SHARES

यो शहरमा आज के भयो यस्तो !
दिन अनि रात एउटै भए जस्तो ।।
कहाली लाग्दो कोलाहल, लुप्त भएको छ आज,
शून्य बिहानी पनि लाग्न थाल्यो साँझ ।।

उदासिन छ शून्य सडक, मानिसहरु नदेखिँदा !
तर आफैंमा दङ्ग छ ऊ, दुर्घटनाहरु कमी हुँदा !!
रत्तिभर कुर्न नसक्ने साधनको जुहारी हुन्थ्यो कस्तो,
थोरै बेरको गन्तव्यमा पुग्दा पनि युद्ध नै जितेर आए जस्तो !!

प्रकृतिले पाठ सिकाएको हो कि लिएको हो परीक्षा,
अब नयाँ युगको स्वागतको लागि गर्नुछ हामीले प्रतीक्षा !!

शून्य शहरका किताब भित्रपट्टी लुकेका पानाहरुमा,
भेटिन्छन् मानवका आफ्नै संघर्षका पद्चापहरु,
घमण्डी र अहंकारीहरुका खरानी बन्न ठीक्क परेका शब्दहरु,
विवेकहीन मानव आकृतिबाट रचिएका कपटहरु ।।

आज एक निमेषमै बन्द भएका छन् सबै कोलाहल,
विवस छन् मानव जाति सहन गर्न आकाशको गर्जन र धर्तीको हल्चल !!
बन्द भएको छ शहर अनि यसै सँग कैद भएका छन् भोका पेटहरु,
आँसुले भिजेका छन् सबै आफन्त गुमाएका मनहरु !!

बन्द छन् बर्सौ मेहनत गर्ने श्रमजीवीलाई पलपल कुठराघात गर्ने
शहरी महाजनहरु !!
सङै लुप्त भएका छन् अरुको बिवसतालाई हतियार बनाएर,
वचन र कर्मले प्रहार गर्ने कुमानवहरु !!

त्यसैले,
अबको विश्राम पश्चात् प्राप्त गरोस
यो शहरले मानवतासँगै
शान्तिप्रिय पथहरु र आत्मशान्तिका दीपहरु !!

दोलखा, हालः भक्तपुर
२०७८।०२।२०

प्रतिक्रिया