काठमाडौं । जिल्लाहरुमा कोरोना उपचारका लागि सञ्चालनमा ल्याइएका अस्पताल र आइसोलेसन केन्द्रहरुमा तातोपानी खान असहज भइरहेको अवस्थामा संघसंस्थाहरुले डिस्पेन्सर उपलब्ध गराएका छन् । पारिवारिक निजी वन किसानहरुको हकहितमा संगठित हुँदै आएको पारिवारिक निजी वन संघ, नेपाल (एफोन) ले पनि विभिन्न स्थानमा तातोपानी सहज गराउने उद्देश्यले यस्ता डिस्पेन्सर प्रदान गरेको छ ।
एफोन केन्द्रले उपलब्ध गराएको डिस्पेन्सरहरु विभिन्न जिल्ला शाखाहरुले कोभिड १९ महामारीले ले निम्त्याएको संकटको घडीमा सम्बन्धित स्थानीय सरकारलाई सघाउन फरकफरक सामाजिक अभियान सञ्चालन गरिरहेका छन् । यस्तै अभियानअन्तर्गत जिल्ला शाखाहरु गोरखा, दाङ, बाँके र मोरङले कोभिड अस्पताल र आइसोलेसन केन्द्रलाई डिस्पेन्सर उपलब्ध गराएका हुन् ।
एफोन जिल्ला शाखा गोर्खाले हालै जिल्लाको बारपाक, सुलिकोट गाउँपालिका ५ अवस्थित आरसी यूपी भवनमा २ थान डिस्पेन्सर सहयोग गरेको छ । एफोन केन्द्रीय कोषाध्यक्ष राजेन्द्र भट्ट नेतृत्वमा जिल्ला शाखा गोरखाले पारिवारिक निजी वन संघ, नेपालका सदस्यहरुलाई २०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु बारपाक सञ्चालन गरिएको आइसोलेसन सेन्टरमा सो सहयोग गरेको हो ।
यस्तै जिल्ला शाखाको संयोजनमा विभिन्न स्थानका एफोन सदस्यहरुलाई १२ सय थान मास्क, स्यानिटाइजर, थर्ममिटरलगायत स्वास्थ्य सामग्री घरघर पुगेर वितरण गरिएको छ ।
यस्तै एफोन जिल्ला शाखा दाङ पनि शान्तिनगर अस्पतालमा २ वटा डिस्पेन्सर सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको सो आइसोलेसन सेन्टरलाई पारिवारिक निजी वन संघ नेपालले दुई वटा वाटर डिस्पेन्सर मेसिन प्रदान गरेको एफोन केन्द्रीय अध्यक्ष जोगराज गिरीले जानकारी दिनु भयो ।
कोरोना माहामारीको समयमा उपमहानगरपालिकाले सन्चालन गरेको अस्पतालमा बिरामीलाई खानेपानीका लागि केही सहज होस् भन्ने उद्देश्यसाथ सो मेसिन सहयोग गरेको संघका दाङ शाखा अध्यक्ष पदम केसीले बताउनुभएको छ ।
उक्त सामग्री अध्यक्ष केसी, कोषाध्यक्ष धनबहादुर केसीले सयुक्त रुपमा नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा नगरप्रमुख पाण्डेले सहयोग गरेकोमा एफोनलाई धन्यावाद पत्र प्रदान गर्नु भएको छ ।
पूर्व नेपालको मोरङमा पनि एफोनले जनस्वास्थ्यका क्षेत्रमा ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । मोरङ शाखाको संयोजन र एफोन केन्द्रीय सचिव नविन पौडेलको नेतृत्वमा कानेपोखरीस्थित पारिवारिक निजी वन संघ, नेपालका सदस्यहरुलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरिएको हो । ती स्वास्थ्य सामग्री सर्वसाधारणको घरदैलोमै पुगेर प्रदान गरिउको थियो ।
जिल्ला शाखा सदस्यहरु पनि त्यस क्रममा आफ्नो दैनिक गतिविधिलाई सञ्चालन गर्दै टोलछिमेकमा परेका बिरामीहरुको सेवामा लागिरहनु भएको छ ।
यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रलाई संघले वाटर डिस्पेन्सर मेसिन सहयोग गरेको छ । कोरोना संक्रमितका लागि आइसोलेसनमा डिस्पेन्सर हुँदा विरामीलाई तातोपानी खान सहज भएको स्थानीयले बताएका छन् ।
संघका केन्द्रीय सचिव पौडेलको अगुवाईमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यसहितलाई विरामीका लागि तातो र सामान्य पानीको व्यवस्थापन गर्ने ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान भएको हो । संघले सातै प्रदेशमा यसखाले कार्यक्रम अघि सारेको सचिव पौडेलले जनाउनु भयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
