सुर्खेत । कर्णाली प्रदेशको आठौं बजेट अधिवेशन बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको विरोधपछि तेस्रो दिन पनि अवरुद्ध भएको छ । बैठक बुधबार दिउँसो दुई बजेका लागि बोलाइएकोमा झण्डै एक घण्टा ढिला गरी सुरु भएको थियो ।
संसद बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरु उभिएर विरोध जनाएपछि अवरुद्ध भएको हो । जेठ २४ गते सुरु भएको अधिवेशन बैठकमा तीनै तहका अदालतले अपराध प्रमाणित गरिसकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै तत्काल मन्त्री पदबाट हटाउन माग गर्दै एमालेले तीन दिनदेखि संसद चल्न दिएको छैन ।
आफ्ना माग पूरा नहुञ्जेलसम्म बैठक सञ्चालन हुन नदिने एमाले संसदीय दलका नेता यामलाल कँडेललेको भनाइ छ । ‘सरकारले यो समस्याको समाधान सुल्झाउनमा पछि हटेको छ,’ उहाँले भन्नुभयो, ‘यो बैठक पनि जबरजस्ती बोलाउनै पर्ने भएका कारणले बोलाएको झै सरकारले गरेको छ तर हामी हाम्रो अडानबाट पछि हटेका छैनौ ।’
नेता कँडेलले लकडाउनका बेला पनि बिचौलियाहरु होटल–होटलमा आगामी आर्थिक वर्षका लागि योजना छनोटको काम भइरहेको बताउनुभयो । मन्त्रालय त देखाउने ठाउँ मात्रै भएको उहाँको आरोप छ । एमाले पार्टीको ह्वीपविपरित फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई सहयोग गरेका माधव नेपाल गुटका भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै आएको छ ।
मन्त्री थापालाई जालसाजी सरकारी कागजात किर्ते मुद्दामा जेठ ३० गते छलफलका लागि उपस्थित हुन सर्वोच्चले भनेको छ । तेस्रो दिनको बैठकमा पनि अवरोध भएपछि सभामुख राजबहादुर शाहीले सूचना टाँसेर स्थगित गरेका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
