बाढीले बगाएको गाउँ
पहिरोले पुरेको बस्ती
ढुङ्गाले उछिट्यएको घर
लेदोले पुरेको आँगन
चिरा परेको घुर्यान
किलो दाम्लो सङ्गै
बगेका बस्तुभाउ
नामो निशान हराएको खेत
बगर बनेको बारी
पैरो बनेको पधेरो
उजाड बनेको बगैचा
अघिल्तिर उभिएर
ङिच्च गर्दै
आफन्त र सर्बस्व गुमाएका
बैरागीका दुर्दशा छेउमा
टिकटक खिच्ने
तिम्रो लाखको
मोबाइललाई ठाडो
भन्न त मिल्ला नि है ?
चिहानमा उभिएर
लाश देखिने गरी
चिताका छेउमा पुगेर
शोलामा सुतेको
चोला उठेको
कफिनमा गुडुल्किएको
खटमा चढेको
मृतकको सामुन्ने
सेल्फी खिच्ने
लाखौंको तिम्रो
मोबाइललाई
तेरो खप्पर
भन्न त पाइएला नि है ?
अस्पतालको बेडमा
मृत्यु सङ्ग
साक्षात्कार गरिरहेको
बिरामीलाई
वाक्क लाग्ने गरी
तिम्रा अघिल्तिर
काम्दै गरेका दुई हात
दिक्दार मन
दुःखी ज्यान
फैलाएर एक छाक माग्ने
मान्छे तिर फर्केर
सेल्फी खिच्ने तिम्रो
मोबाइललाई तेरो टाउको
त भन्न त मिल्ला नि है रु
चिहानमा सुतेका
चितामा चढेका
खट्मा चलेकाहरू सङ्गको
सेल्फिले भोट माग्ने
सङ्गठन गर्ने
भाइरल बन्ने त होला
तर तिमी माफी दिन
लायक होइनौ ।
हस्पिटलका बेडमा
एसिडले जलेर
अपांग भएर
रोग, भोक र बेदनाले
च्यापिएर ऐया, ऐया भन्दै
लडिका बनेका
थलिएका अचेत अनुहार सङ्गका
सेल्फी फेसबुकमा बेचेर
तिमी नेता, समाजसेवी
अभियन्ता बन्ने
ध्याउन्न धिक्कार छ
पजेरो देखाएर
हेलिकप्टर उडाउदै
दुखेका मनलाई निचोरेर
रोएको अनुहारमा
क्यामेराले चिथोरेर
दैवी प्रकोप पर्यटन मार्फत
सेल्फी खिच्न
टिकटक बनाउन
पीडितलाई चिड्याउन बन्द गर
अब
तिम्रो सोचको चाडो उद्धार
गर्नुपर्ने देखिन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
