काठमाडौँ । महानन्द सापकोटा साहित्य गुठीअन्तर्गत् सन् २०१२ मा स्थापना भएको ‘महानन्द सापकोटा साहित्य साधक सम्मान’ यसपल्ट डा. शङ्कर सुब्बा फागोलाई प्रदान गरिएको छ । फागोले आफ्नो विद्यावारिधिको उपाधि भाषासेवी साहित्यकार महानन्द सापकोटाबारे गरिएको शोधमार्फत पाउनुभएको हो ।
उक्त सम्मान घोषणा आज जुम मिटिङमार्फत घोषणा गरिएको गुठीकी संरक्षक–संस्थापक सीता बस्नेत सापकोटाले जानकारी दिनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज–ड्यालससँगको सहकार्यमा महानन्द सापकोटा साहित्यसाधक सम्मान प्रायोजन गर्न पाएकोमा म र सम्पूर्ण सापकोटा परिवार हर्षित छौँ । कुनै न कुनै रुपले नेपालको भाषा, साहित्य र सँस्कृतिसँग जोडिन पाएकोमा मलाई सन्तुष्टि मिलेको छ ।’
डा. फागोले सापकोटामाथि शोध मात्रै गर्नुभएको छैन, उहाँले आफ्नो जीवन भाषा अध्यापनमै समर्पित गर्नुभएको छ । केही वर्षअघि अध्यापन पेशाबाट निवृत्त भएका फागोका दुई वटा कथा सङ्ग्रह पनि प्रकाशित छन्– ‘एउटा हत्या नभएको हत्या’ र ‘बग्दाबग्दै जीवनसँग’ ।
यसअघि उक्त सम्मानद्वारा दुर्गालाल श्रेष्ठ, वसन्त थापा, गोविन्द वर्तमान (मरणोपरान्त), किशोर नेपाल, किरण खरेल र नेपाली शिक्षा परिषद् विभुषित भइसकेका छन् । पहिलोपल्ट उक्त सम्मान प्राप्त गर्ने विप्लव प्रतीक भन्नुहुन्छ, ‘डा. फागोलाई सम्मान गरेर गुठीले सराहनीय काम गरेको छ । र, भविष्यमा फागो जस्तै साधकहरुलाई गुठीले पहिचान गर्नेछ र सम्मान गर्नेछ भन्ने मेरो विश्वास छ ।’
पुरस्कार ५० हजार रुपैयाँ राशिको रहेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
