• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

समयसँगै हराएको प्रेम


  • सिन्धिया श्रेष्ठ
  • आइतवार, असार २०, २०७८
  • 13.3K
    SHARES

मेरो चिठी पढेर तिमी भावुक हुन्छौ भने
भयो अब म कुनै चिठी लेख्दिनँ ।

मेरो सम्बोधनले तिम्रो मुटु छियाछिया हुन्छ भने
म हाम्रो सम्बन्धलाई गुमनाम नै राखिदिन्छु

मेरो मायाले तिमीलाई पोल्छ भने
मेरो सामिप्यताले तिमी अश्म बन्छौ भने
यो प्रेमको के अर्थ भयो र ?

ठिक छ, म आइन्दा तिम्रो छेउ पर्दिनँ
तिम्रो हाँसोमा म रमाउँदिनँ
तिम्रो आँशुमा म भेटिन्नँ
म तिमीलाई मेरो अस्तित्त्वको कुनै आभाष हुन दिन्नँ
त्यसैले म अब कुनै पत्र लेख्दिनँ

मेरा प्रेमका तमसुकहरु तिमीसँग छन् यदि कुनै भने तिनीहरुलाई तिमी
डुङ्गा बनाई बगाइदेऊ, त्यो मेलम्चीको भेलसँगै
चङ्गा बनाई उडाइदेऊ, यो विशाल आकाशमा चराहरूसँगै
खरानी बनाई मिल्काइदेऊ, ती यादका अस्तुसँगै ।
अनि सम्झनेछु म आफूलाई
पृथ्वी जस्तै
सूर्य जस्तै
हावा जस्तै
पानी जस्तै
एक्लो एक्लो एक्लो !

प्रतिक्रिया