कोपिला
१
हातको ठेला हेर
एक मुठ्ठी सासको महत्त्वमा
जिन्दगी खेला हेर ।।
२
शब्द चुन्दै गोली नखेल
अनुशासनको पालना गर्नलाई
बेमौसमी होली नखेल ।।
३
सुनको बाला छैन
सधैँ टाढा टाढा मात्र हुन्छौ
गतिलो चाला छैन ।।
४
भाव तौलिने तुला भएन
प्रेममा आशक्त नभएकै राम्रो
दिलको दैलो खुला भएन ।।
५
धानको बाला झुलेको राम्रो
प्रकृतिको अनमोल उपहार स्वरुप
गुराँसको फूल फुलेको राम्रो ।।
सिर्जना खनाल, भैरहवा, रुपन्देही
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
जुल्फी लर्काउँदै हिड्छन् ।
आजकलका युवा किन हुन् यस्तो
मान्छे थर्काउँदै हिडछन्।
२
के के खाएर हिड्छन् युवा
मस्त नशामा राता राता आँखा पारेर
कुन्डल लाएर हिड्छन् युवा।
३
सधै मोवाइलमा मस्त छन्
न पढाईको चिन्ता युवालाई ,न खानपिनको
जहिल्यै सञ्जालमा ब्यस्त छन् ।
४
युवा जति बेगारी हुने भए
पढ्यो,गुन्यो प्रमाणपत्र मात्र, छैन रोजगार
बिना कामै लाचारी हुने भए
५
विदेश मै हिरिक्क मान्छन्
कस्तो शिक्षा पाउँदैछन् आजका युवाले
स्वदेश देखी दिक्क मान्छन् ।
लक्ष्मी स्मृति, विराटनगर ५
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
डालीमा फूल कोपिला नै फुलाउँछु मैले,
मलजल गर्न माली कम भए प्रकृति चाहिन्छ,
बगैंचामा सदैब मन भुलाउछु मैले ।
२
सपनीको हकसम्म पाउन्न है,
माया आफैंले कायम गर्छौ अनि तोड्नेगर्छौ
हुन्न भनेपछि कैले धाउन्न है ।
३
जति दुःख परे नि साथ छोड्ने छैन ,
मेरो हृदयमा तिम्रो मायालाई बाँधेको छु,
मायाको बन्धन कहिले तोड्ने छैन ।
४
तिमीले कहानी नबनाउ,
मायामा कुरा फेर्नेले माया गर्दैनन्,
मायाको निसानी नबनाउ ।
५
चाल माथि चाल चल्दै गयौ तिमी,
भन्ने बेला भन्दै गयौ तर परेको बेला निष्क्रिय,
जोरी खोज्दै हात मल्दै गयौ तिमी ।
सोमनाथ लुइटेल रवि, हाल : कम्पाला युगान्डा
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
सत्य कुरा गर्नुपर्छ सदा
तस्बिर हैन चरित्र चित्रण हेर्छ मान्छे
सुन्दर छवि छर्नुपर्छ सदा।।
२
ज्ञानी मान्छे झुक्छ सधैँ
ज्ञानी आकाशदीप, ज्ञानज्योति हो
खूरापाती लुक्छ सधैँ।।
३
मद्दत दिनु ठूलो धर्म हो
देवात्माको वास भएरै त होला
असाधारण पूण्य कर्म हो।।
४
कर्मयोगी भोको हुँदैन
स्वाद फेरेर बाँच्छ सन्तुष्टिको
विलौनाको पोको हुँदैन।।
५
लिनु दिनु कुरा बुझाएँ सारा
तिमीले आफ्नो औकात देखाएपछि
लिनु पर्ने बिल रुझाएं सारा ।।
ओमकुमारी बन्जरा रानाभा, काठमाडौं
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
विपत्तिले छोएको बेला
के गर्न सक्छु मन दुखाउन बाहेक
मेरो देश रोएको बेला ।
२
आज सम्म चुकेको छैन
सत्यको अगाडि खुलेर बोल्छु
झुट सँग झुकेको छैन ।
३
मेरै देश प्यारो लाग्ने
घुमे पनि धेरै देशहरुमा आफ्नै
भाषा भेष प्यारो लाग्ने ।
४
आफ्नै कथा छ नारीको
भित्र रोएर बाहिर हाँस्नु पर्ने सधै
पीडा वेथा छ नारीको ।
५
भित्र माया साँचेको छु
तिमी आउने झिनो आशा लिँदै
आजसम्म बाँचेको छु ।
लीला केसी, बाँके, कोहलपुर
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
असारे हिलो माथि
बाउसेले लगि बाउसो
लतारे हिलो माथि
२
नमिल्दा पुरा छोडौं
बन्दिए है सहारा तिमी
बितेका कुरा छोडौं
३
बिरानो भयो माया
पर्खिएरै, बसेकी थिएँ
नभेटी गयो माया
४
उसैको रमानामा
भागिरह्यौ अझै पल्तिर
कसैको बहानामा
५
नहेरी गई हाल्यौ
भन्छु भन्दै थिएँ तै पनि
नटेरी गई हाल्यौ
घनश्याम पौडेल, सृजना चोक, पोखरा
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
कोरोनाको कहर छ,
मुस्किल नाघ्न सङ्घेठेलो
डुली हिँड्ने रहर छ ।
२
घरमा रित्तो डाली छ,
जिम्मेवारी बाँझो बारी खन्ने,
हलोमा भुत्ते फाली छ ।
३
हृदयमा पिर छ,
सकिन चिन्न गन्तव्यको बाटो,
दोबाटोमा भिर छ ।
४
बोलिको गोलि चल्छ यहाँ,
इमान्दारितामा त गरिबिको बास हुन्छ,
जोगिको झोलि चल्छ यहाँ ।
५
मेरो मन त त्यतै छ हजुर,
विज्ञानले जोडिदियो नाता भन्छु,
शरीर मात्र यतै छ हजुर ।
सविता केसी, काठमाडौं
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
कहाँ पाउने हो मनको शान्ति,
तड्पिन्छन् अनगिन्ती मुटुहरु यहाँ,
कस्ले देला र खै वुद्धको शान्ति ।।
२
हृदय छिया छिया भएको देख्दै छु ,
मुखमा मात्रै त हो तिम्रो मधुर मुस्कान्,
म त शान्त्वनाको लागि मात्रै लेख्दै छु ।।
३
देख्नै पाइन वर्षाले वगाइदियो घरै,
बोकेरै पो के भयो र ती रङ्गिन् सपनाहरु,
हेर्नै पाइन म खाली वनाइदियो घरै ।।
४
हावापानीले मात्रै कहाँ हुन्छ र ?
पढेलेखेर मात्रै हुँदैन रहेछ मान्छे,
घामको उज्यालोले त्यहाँ छुन्छ र ?
५
बगैँचा भन्दैमा आउँछ र सुगन्ध,
कस्तुरीको खोजीमा मधुवन डुल्दै छ त्यो,
भित्रै नपसी ऊ पाउँछ र सुगन्ध ।।
लक्ष्मीप्रसाद अधिकारी, रुपन्देही
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
युद्धद्वारा शान्तिमा पुग्छौं
परिवर्तन प्रकृतिको स्वभाव हो
विद्रोहले क्रान्तिमा पुग्छौं ।।१।।
युद्धमा गोलीले मार्छ
लडाइँ र मायामा सबै जायज हुन्छ
प्रेममा बोलीले मार्छ ।।२।।
सुशासनको माला जपेर बस्ने हो
एक पैसा न खान्छु न खान दिन्छु कसैलाई
कमिसन खाएनि खरानी घस्ने हो ।।३।।
विकासको नाममा बजेट जुटाइन्छ
मह काट्नेले हात चाट्नु स्वभाविक कुरा हो
कसैले बिरोध गरे पार्टी फुटाइन्छ ।।४।।
मीठा मीठा कुरा गर्छन्
यस्तै हुन्छन् सबै अवसरवादीहरु
आफ्नो स्वार्थ पूरा गर्छन् ।।५।।
वैद्यनाथ श्रमजीवी, वीरगन्ज
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
मेलामा जाउँ कान्छी
छुपु न छुपु हिलोमा धान
रोपेर आउँ कान्छी ।
२
बेठी नि लाउने हो
अर्म र पर्म गरौंला मिली
बोलाए आउने हो ।
३
खै कसरी जाने हो
टाढा छ खेत असारे झरी
के खाजा खाने हो ।
४
बीउ काढ्न पा छैन
जम्यो जमेन गरामा पानी
लौ, आली नि ला छैन ।
५
नौमती बाजा छ
रोपाहार राजा आलीमा बसौँ
खट्टेको खाजा छ ।
तिला लेकाली, बेलबारी,मोरङ ।
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
भगायो खोलाले
रातमा आई घर नै ढाली
बगायो खोलाले
२
बनायो हालमा
बाढीले आज बिचल्ली पारी
बसायो पालमा
३
पुरिए हिलामा
जीवन धान्ने सपना सबै
उनिए किलामा
४
रोएको भोकले
कसरी हेरौं मुहार आमा
धोएको शोकले
५
घुम्तीको बाटोमा
मलम लाउन आए कि कोही
घाउको खाटोमा
जानुका गुरागाईं, विर्तामोड, झापा
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
एकपछि अर्को पीडा
लामेताँत लागेर आएपछि
खप्नै पर्ने चर्को पीडा
२
खोटैखोट नदेऊ भो अब
कुटु कुटु खाइसकेको छ यो मुटु
चोटैचोट नदेऊ भो अब
३
उर्लिएको भेलले बगायो
धेरै ज्यान मार्यो बिचल्ली पार्यो कठै
प्रकृतिको खेलले बगायो
४
बाँच्न मन हुने मर्छन् कोही
रहर लाग्दा र खाइलाग्दा जवानहरु
आत्महत्या पनि गर्छन् कोही
५
मालाजस्तै गाँसेको माया
छोडेर जाँदैछन् चुँडेर लाँदैछन्
मुटु भित्र साँचेको माया
सुन्दरी घिमिरे खतिवडा, शङ्खुवासभा
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
राम्रो मालीको पाएर साथ
मिर्मिरे बिहानीमा मुस्कुराउँछौ कोपिला
गर्छन् सेवा झुकाएर माथ
२
हातमा कलम समाएर बसौं
आउँ साथी कोपिला लेख्न एक नम्बरमा
कोपिला बागमा रमाएर बसौं
३
अस्पतालमात्र धाएर हुन्न है
घरमा पनि आफू नियम पालना गर्नु पर्छ
औषधि मात्र खाएर हुन्न है
४
मायाले छाएर आउँदैन
महामारीको बेलामा बाहिर नजाउँ है
कोरोना धाएर आउँदैन
५
नाम कमाएर बसौं
कोपिला बगमा प्रबेश गरेर हामीले
स्थान जमाएर बसौं ।
सरस्वती श्रेष्ठ, इटहरी
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
तिम्रो निम्ति चोखो प्रीति साँचिराखेको छु
तिमी बेगर कोही छैन, यो हृदय आकाशभरि
सुवासित पुष्प जस्तै हाँसिराखेको छु
२
मायाको कारोवार सस्तो बनायो
भत्काउन खोज्छ नाता, पारपाचुके गरेर
न मरुँ न बाँचूँ जस्तो बनायो
३
आँसु पिएर जिउँदै छु
लुटिए खुसीहरु, आनन्द हरायो
यो मन् सिएर जिउँदै छु
४
वैरी सामु किन हँसायौ यसरी
आयौ खेल्यौ गयौ, बिल्लीबाठै लगायौ
चढाएर माथि खासायौ यसरी
५
निरीह भै आँसु देखायो नभन्नू
वाध्यताले डोर्यायो, परिस्थिति यस्तै भो
किटानी जाहेरी लेखायो नभन्नू
सुमन कडरिया, चितवन ।
✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️ ✍️
कोपिला
१
अभावले के सम्म धान्नु पर्ने
कस्तो बिडम्बना हो यो हाम्रो देशमा
मान्छेले हलो नि तान्नु पर्ने
२
पौरखी हात टिकेका यहाँ
कमिलाको सहकार्य हेरेर नै उस्ले
यस्तो गर्न सिकेका यहाँ
३
पिरले ऊ रुन्छ र यहाँ
देश र जनता प्रती समर्पितहरुलाई
नचिन्ने को हुन्छ र यहाँ
४
जिन्दगी सारै नै छोटो देख्दा
किन ? मलाई अचम्म लागेर आउँछ
उभिएर खिचेको फोटो देख्दा
५
जन्मेको माटो नरोज्ने किन
बेरोजगारीले सिमा नाघ्दा सम्म पनि
वैकल्पिक बाटो नखोज्ने किन ?
सयुसुसन राई चरनु, सुनसरी
संयोजन : गंगा दहाल
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य










