• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

यसरी चुँडिन्छन् इच्छाहरू


  • इन्दिरा दाहाल
  • मङ्लबार, असार २२, २०७८
  • 13.5K
    SHARES

माधव दाइकी श्रीमती माया दिदी, म उहाँलाई माया दिदी भनेर बोलाउँथेँ । गाउँघरमा निकै प्रभाव जमाएका माधव दाइले घर व्यवहारमा त्यति चासो देखाए जस्तो लाग्दैन थियो ।

माधव दाइ र माया दिदीको प्रेम विवाह भएको थियो । माधव दाइको घर इलाम, माया दिदीको पनि मावली घर इलाम, वल्लो घर पल्लो घर हुँदाहुँदै दाइ र दिदीबीच माया बस्न गएछ र विवाह भएको रहेछ । त्यो बेला माया दिदी दाइलाई निक्कै माया गर्नुहुन्थ्यो रे अनि दाइले पनि ।

दिदी साहित्यतिर निकै झुकाव राख्ने व्यक्तित्व हुनुहुँदो रहेछ । जतिबेला माधव दाइले माया दिदीसँग प्रेम प्रस्ताव राख्नुभयो, त्यतिबेला नै माया दिदीले भन्नुभएको थियो रे मेरो साहित्य र सिर्जनालाई फस्टाउने खुला फाँट चाहिएको छ । आशा छ, यहाँको काखमा रमेर म साहित्यिक फूलबारी सजाउने छु ।

तर विवाह पछाडि त्यो स्थिति रहेन जस्तो माया दिदीको कल्पना थियो । घरधन्दा, मेलापात गरेर सिर्जना गरेका रचना केवल डायरीमै खुम्च्याएर राख्नुपर्ने बाध्यता माया दिदीको पनि रह्यो । कतै गोष्ठी, कतै सेमिनार, कहीँ भेला कहीँ बैठक, माधव दाइको घर बसाइ हप्तामा मरेर दुई दिन मात्रै ।

कतै कार्यक्रम हुने कुरा सुन्नेबित्तिकै माया दिदीलाई उडेर त्यहाँ भाग लिन जान मन लाग्थ्यो रे तर निमन्त्रणा पत्र माधव दाइको नाममा आउने भएकोले दाइले नै दिदीलाई उछिन्नु हुँदोरहेछ । घरमा माधव दाइकै हैकम चल्ने । धेरै बोल्दा पनि नखरमाउली हुने डर, बिचरा कुरै काट्न नसक्ने दाइको । त्यहाँमाथि बुढाबुढी सासू ससुरा कसलाई जिम्मा दिएर हिँड्ने र ? इच्छालाई मनभित्रै गुम्स्याएर डायरी हेर्दै बिताउनु हुँदोरहेछ पलहरू ।

यी सबै कुरा थाहा पाए पनि मैले दिदीको लागि केही गर्न सकिरहेकी थिइनँ किनकी माधव दाइसँग मेरो भेटै नहुने । एकदिन साहित्यिक कार्यक्रमको अवसर पारेर मैले दिदीलाई निमन्त्रणापत्र पठाएँ । त्यो कार्यक्रम नारीप्रधान थियो । माधव दाइलाई पनि उक्त कार्यक्रममा निमन्त्रणा गरिएको थियो ।

अतिथिहरू सबैले नारीलाई अगाडि बढ्न सहयोग गर्ने प्रतिबद्धता जनाए । माधव दाइले पनि हो मा हो मिलाउनु भयो । नारी अवसरको कमीले पछि पर्छन्, उनीहरुलाई अवसर दिलाउनु हामी पुरुषहरुको कर्तव्य हो । उहाँको मुखबाट यी वाक्यहरू सुनेपछि मैले माधव दाइलाई केही पनि भन्न उचित ठानिनँ । माया दिदी यति खुसी हुनुहुन्थ्यो त्यो दिन सायदै उहाँको सबभन्दा खुसीको दिन थियो ।

त्यसपछि म पनि पढाइको सिलसिलामा काठमाडौँ हानिएँ । एकदुई पटक हामीबीच पत्राचार पनि भयो तर आ–आफ्नै व्यस्तताको कारण हामीबीच पत्राचार पनि हरायो । लगभग एकवर्षपछि म घर फर्किएँ । त्यसपछि म उहाँलाई भेट्न उहाँकै घरतर्फ प्रस्थान गरेँ । “आइमाइले आफ्नो थान्कोमा बस्नुपर्छ, कतै पोथी बासेको सुहाउँछ ? मलाई आइमाई मान्छे बाठो भएको मन पर्दैन र आइन्दा मेरो बोली काटेर आफू खुसी गरिस् भने…..।” माया दिदीको घरमा पुग्दा एउटा नचिताएको दृश्यले नतमस्तक बनेँ । माधव दाइको आवाज थियो त्यो । मलाई देखेपछि माधव दाइ फुत्त निस्किएर खै कता बिलाउनु भयो ।

माया दिदी के भयो ? मैले बिस्तारै सोधेँ । बहिनी…ऽऽऽऽ दिदीको रुवाइ बढ्दै गयो, म मुक दर्शक बनेँ । एकछिन पछि मैले पुनः सोधेँ – दिदी के भयो तपाईँलाई ? उहाँले रुदै भन्नुभयो – मेरो इच्छा चुँडियो बहिनी, मेरो सपना खोसियो । यही डायरीसँगै मेरो जीवनको सपना सबै च्यात्तियो । बहिनी म के गरौँ ? अवरुद्ध गलाले दिदीले यसै भन्नुभयो ।

यसो हेरेँ, उहाँले लेख्नुभएका सुन्दर कविताहरू, मिठा गजलहरू, टुक्रा टुक्रा भएर च्यातिएका थिए । ऊ त्यो आगोसँगै मेरो जीवन जलिरहेको छ बहिनी भन्दै अँगेनोतर्फ औँल्याउनुभयो । म अझै नतमस्तक बनेँ । साँच्चै त्यहाँ पनि आदि च्यात्तिएको डायरीभित्र दिदीका सुन्दर अक्षरहरू जलिरहेका थिए । दिदीको आँसुले न त निभाउन सक्यो त्यो आगोलाई, न त जोड्न सक्यो च्यात्तिएको पानालाई । मेरो दिमागमा त्यही कुरा घुम्यो “नारी अवसरको कमीले पछि पर्छन्, उनीहरुलाई अवसर दिलाउनु हामी पुरुषहरूको कर्तव्य हो ।”

प्रतिक्रिया