काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१ औं योगमाया स्मृति दिवसमा ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक विचार–गोष्ठी गरिएको छ ।
आधा भर्चुअल र आधा प्रत्यक्ष ढङ्गबाट गरिएको सो गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महिलाले पढ्न नपाउने भन्ने कुरा वेदको सही व्यवस्थापन नभएको बताउनुभयो । उहाँले कुनै कालखण्डमा स्वार्थवस र अन्जानवस वेदको व्याख्या गरिँदा वेद–दर्शनका केही आधारभूत कुराहरू विकृत भएका छन् ।
यस्ता गोष्ठीले त्यसका आधारभूत मान्यताहरू के छन्, कुन पृष्ठभूमिमा ती संरक्षित भए र तिनको सन्देश के हो भनेर बुझ्न सहयोग पुग्ने उहाँको भनाइ थियो । त्यसको साङ्केतिक महत्त्वलाई बुझेर मनन गर्न सकेमा हरेक युगमा मानव जीवनलाई निर्देशित गर्ने वेदमा रहेको छ ।
उपकुलपति डा. जगमान गुरुङले पौरस्त्य दर्शनका आलोकमा महिलाको स्थान विशिष्ट, उच्च र सम्मानित रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिले पौराणिककालमा मात्रै होइन, अहिले पनि नेपाली समाजमा महिलाको स्थान सम्मानजनक छ । सबैलाई न्याय दिने, मान्य हुने कानुन बनाउनुपर्छ ।’
गोष्ठीको अध्यक्षता गर्दै प्रतिष्ठानका सदस्य–सचिव, दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले वेदमा महिलाको स्थिति के रहेछ, बौद्धदर्शनमा के रहेछ र हाम्रो धर्मदर्शनमा के छ भनेर बुझ्नका लागि कार्यक्रम फलदायी भएको बताउनुभयोे । उहाँले वेदका मन्त्रका रचयिता पुरुष र महिला दुवै भएकाले पनि महिलाको स्थान उच्च रहेको विचार व्यक्त गर्नुभयो ।
‘वैदिक दर्शन र महिला’ कार्यपत्र प्रस्तुत गर्दै डा. शुक्रराज अधिकारीले ‘वेद महिलाले भने पढ्नु हुँदैन, पुरुषले मात्रै पढ्नुपर्छ’ भन्ने गलत मान्यता अझै पनि समाजमा व्याप्त रहेको तर तिनै महिलाले पढ्न नहुने भनिएको वेदका कयौँ मन्त्र महिलाले नै लेखेको बताउनुभयो ।
उहाँले वैदिक नारीहरू मन्त्रद्रष्टा ‘ऋषिका’ का रूपमा स्थापित भएको उल्लेख गर्नुभयो । आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूलस्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ वेद हो । समग्र जीवन जगत्, ज्ञान र विज्ञानको स्रोत वैदिक दर्शन हो भन्ने भनाइ उहाँको थियो ।
बेलायतबाट भर्चुअलमाध्यममा जोडिनु भएका भिक्षु कश्यपले ‘बौद्ध दर्शन र महिला’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै पितृसत्ताको नियन्त्रण र थिचोमिचोले स्त्री हमेसा सीता बनेको तर बुद्ध कहिल्यै नबनेको तर्क गर्नुभयो ।
गोष्ठीमा संविधानसभा सदस्य प्रभा बज्राचार्य, निवर्तमान सङ्घीय सांसद विद्या भट्टराई तथा महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझाले ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयमाथि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशि लुमुम्बूद्वारा सञ्चालित कार्यक्रममा सुनिता साखकर्मी, हेमलता मुडवरी र किशोर नेपाली प्रतिवेदक रहनुभएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

