काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न प्रतिभाहरूलाई विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा सम्मानित एवं पुरस्कृत गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन, शीतल निवासमा आयोजित पुररस्कार समर्पण समारोहमा राष्ट्रपतिले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कारहरू र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ जना प्रतिभाहरूलाई सम्मानित एवं पुरस्कृत गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार सम्मान दोसल्ला, फूलको माला र सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो । अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उहाँको बैंक खातामा दाखिला गरिने छ भने सम्मानपत्र कुलपतिमार्फत् वाङलाई हस्तान्तरण गरिने छ ।
यसैैगरी राष्ट्रपतिले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत् भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गर्नुभयो । क्षेत्री पनि अस्वस्थताका कारण समारोहमा उपस्थित हुन असमर्थ हुनुभएका कारण कुलपतिमार्फत नै उक्त पुरस्कार अर्पण गरिएको हो । कुलपति उप्रेतीमार्फत् परिस्थितिअनुकूल भएपछि क्षेत्रीलाई सम्मानपत्र हस्तान्तरण गरिने छ भने दुई लाख राशिको नगद पुरस्कार उहाँको बैंक खातामा दाखिला गरिने छ ।
यसैगरी राष्ट्रपतिद्वारा नेपाल प्रज्ञा अनुवाद पुरस्कारबाट प्रसिद्ध अनुवादक कृष्णप्रकाश श्रेष्ठ (कोभिडका कारण चैत्र १६ गते कीर्तिशेष भइसक्नुभएको) का प्रतिनिधि उहाँका भाइ साहित्यकार तेजप्रकाश श्रेष्ठलाई अर्पण गरियो । राष्ट्रपतिले समारोहमा प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार, प्रा.डा. तेजरत्न कंसाकार नेपाल प्रज्ञा भाषा पुरस्कार र हरिहर खनाल नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत गर्नुभएको थियो । उक्त पुरस्कारहरूको राशि जनही दुई लाख रुपैयाँ रहेको छ ।
यसैगरी रविमान लमजेललाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७८), पूर्णबहादुर वैद्य (पूर्ण वैद्य) लाई नेपाल प्रज्ञा मातृभाषा (नेपालभाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७), इन्द्रबहादुर गुरुङलाई नेपाल प्रज्ञा मातृभाषा (गुरुङ भाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७८) र चतुर्भुजलाल दास केवरत नेपाल प्रज्ञा मातृभाषा (केवरत भाषा) साहित्य पुरस्कार (तराई/मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि– २०७७) प्रदान गर्नुभयो ।
यस्तै हंसावती कुर्मीलाई नेपाल प्रज्ञा मातृभाषा (अवधी भाषा) साहित्य पुरस्कार (तराई/मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यतर्फ–२०७८) का लागि राष्ट्रपतिले पुरस्कृत गर्नुभएको थियो । स्वास्थ्य समस्याका कारण रविमान लम्जेल समारोहमा उपस्थित हुनुभएको थिएन । यी प्रज्ञा पुरस्कारहरूको राशि जनही एक लाख रुपैयाँ नगद रहेको छ ।
सोही समारोहमा राष्ट्रपतिले राष्ट्रिय कविता महोत्सव २०७७ र २०७८ का विजयी कविहरूलाई पुरस्कार अर्पण गर्नुभयो । २०७७ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम हुने भैरवी भूगोल (नुवाकोट), द्वितीय हुने प्रज्वल अधिकारी (लमजुङ), तृतीय हुने गणेशप्रसाद खतिवडा (सोलुखुम्बु), देवकी अभिलाषी (दोलखा) र रेजिना आपगाईं (तेह्रथुम) लाई पुरस्कार र पदक अर्पण गरिएको थियो ।
त्यस्तै २०७८ सालका विजयी कविहरू प्रथम कविता राई (भोजपुर), द्वितीय अमृता स्मृति (धादिङ) र तृतीय हुने सविता बराल (ताप्लेजुङ), निरञ्जनाकुमारी चन्द (बर्दिया) र प्रकाश सिलवाल (नुवाकोट) लाई नगद, पदक र सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभएको थियो ।
कविता महोत्सवमा प्रथम हुने कविलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार नगदका साथै स्वर्ण, रजत र काँस्य पदक प्रदान गरिएको थियो ।
विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताउनुभयो । उहाँलेसमाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरुले राष्ट्रिय भावनाको प्रवद्र्धनमा अद्धितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरुको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गर्नुभयो ।
बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्रिय भावनालाई अभिव्यक्त गर्ने निधिका रुपमा रहेका प्रतिभाको सम्मान गरिनु उच्च चेतना, कला, साधना र अथक योगदानको सम्मान हुने भएकाले प्रज्ञा–प्रतिष्ठानले यस परम्परालाई निरन्तरता दिएकोमा उहाँले आभार व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले आदिकवि भानुभक्त आचार्यको दुई सय आठौँ जन्मजयन्तीका सन्दर्भमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै महत्वपूर्ण कृतिहरुमार्फत नेपाली भाषा र साहित्यको विकास तथा राष्ट्रिय भावनाको विकासमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो ।
समारोहमा बोल्दै माननीय कुलपति उप्रेतीले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्र विषयक्षेत्रका वाङ्मयगत विधा÷उपविधाहरूमा प्राज्ञिक अनुसन्धान एवम् मौलिक सृजनाका माध्यमबाट लामो समयदेखि साधनारत रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल राष्ट्र एवम् नेपाली जातिको गौरव बढाउन गहकिलो र विशिष्ट योगदान पु¥याएका प्रतिष्ठित साधकहरूलाई सम्मानित तथा पुरस्कृत गरिएको बताउनुभयो ।
उपकुलपति डा. जगमान गुरुङले समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रज्ञा सम्मान तथा पुरस्कारका लागि प्रतिभा छनोट गर्दा योगदान, समुदाय र भूगोलजस्ता कुरालाई विशेष ध्यान दिइएको बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
