दोलखामा दुई तारे होटलहरुमा ‘एम्ब्रोसिया’ पहिलो हो । यो विधिवत रुपमा शनिबारबाट सञ्चालनमा आएको छ ।
दोलखाका व्यवसायी दिनेश बस्नेतले चरिकोटको सातदोवाटोस्थित व्यावसायिक भवनको चौथो तलादेखि सातौं तलासम्म स्थापना गर्नुभएको होटलको सुविधा केही पाँच तारे होटलहरुको सँग मेल खान्छ ।
पर्यटकीय गन्तव्य बनिरहेको दोलखामा थप तारे होटलहरु स्थापना गर्न प्रेरक बन्नेमा म विश्वस्त छु । प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहर भीमेश्वर नगरभित्र अन्तर्राष्ट्रियस्तरको आवासीय संरचनामा लगानी फैलाउँदा पछुताउनु पर्दैन भन्ने मलाई लाग्छ । किनकि यो संघीय राजधानी काठमाडौंबाट नजिक रहेको पर्यटकीय गन्तब्य हो । दोलखामा मलाई सम्पर्क गरेर आउने साथी र अग्रजहरुलाई उहाँको ईच्छाअनुसार सबैजसो तहका होटल बुक गर्न मद्दत गरेको छु ।
व्यवसायी दिनेशजीले सुरु गर्नुभएको पर्यटन क्षेत्रको लगानीले उहाँलाई कहिल्यै पछुताउनु पर्दैन भन्ने मलाई लाग्छ । अबका दिनमा दोलखामा पर्यटकीय क्षेत्रमा लगानी लगाउनु उपयुक्त छ भनिन्छ । होटलहरु बन्द भइरहेको अवस्थामा दिनेशजीले यही व्यवसायमा सम्भावना खोज्नु नेपालकै पर्यटनमा नयाँ उत्साह थपेको छ । यो पर्यटन व्यवसायीका लागि ऊर्जा पनि हो ।
राम्राराम्रा होटल बन्दै जाँदा पर्यटकहरुको चाप पनि बढ्दै जान्छ । खासगरी आवतजावतमा सडक र हवाई सम्पर्कका लागि सुरक्षित सडक र विमानस्थल जरुरी हुन्छ । आधुनिक र रमझम पूर्वाधारभन्दा प्राचीन शैली, रहनसहन, पूर्खाहरुको सीप र कलामा आधारित वस्तुहरु बढीजसो पर्यटकीय रोजाइमा पर्छन् । परम्परागत मूल्य र मान्यतामा आधारित वस्तुहरु पर्यटकीय सोचबाट संरक्षण, सम्बद्र्धन र प्रचारप्रसार गर्न सके दोलखाले पर्यटक बोलाउने उपाय अरु खोज्नै पर्दैन ।
जब हामी दोलखाको भूगोलमा पाइला राख्छौं, खरिढुङ्गाको सुन्दरताले जोकोहीलाई केहीबेर लोभलाग्दो वातावरण चुम्न मन लाग्छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एम्ब्रुसियाको उद्घाटन गर्न आउँदा खरिढुङ्गामा केहीबेर टहलिनु भयो । चारैतिर उभिएका सेता हिमाल र हरिया डाँडाले स्वर्गकै टुक्रामा बसेझै अनुभूत गरायो रे उहाँलाई । उहाँले शनिबार बिहान होटलको मूलगेटको रिवन कैचीले काट्नु भयो । होटलका सञ्चालक दिनेश बस्नेत र अन्जुले टक्र्याएको न्यानो स्वागत ग्राहण गर्दै छैटौं तलामा आयोजित कार्यक्रममा दोलखामा लगानी गर्ने इच्छा जागेको सुनाउनु भयो ।
हालै नेपाल सरकारले नेपाल, चीन र भारत जोड्ने छोटो अन्तर्राष्ट्रिय राजमार्ग खुलाउन दोलखाको लामाबगर सुरुङ मार्गका लागि बजेट छुट्याएको छ । यो सुसमाचारले दोलखामा लगानी गर्न व्यवसायी अझै उत्साहित छन् । व्यापारिक मार्गको लाभ लिँदै चिनियाँ र भारतीय पर्यटकले वसाईँलाई भीमेश्वर नगरभित्र छनौट गर्न पनि अरु ठूला होटल र रिसोर्ट थपिनुपर्छ । ससाना होटलहरुले आवश्यक सुधार गर्नुपर्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्री पार्वत गुरुङले उक्त मार्ग खुलेपछि दोलखाको भाग्य चम्कने बताउँदै आउनु भएको छ ।
खरिढुङ्गामा बन्ने भनिएको चलचित्र नगरीले विश्व चलचित्र उद्यममार्फत नामी सेलिब्रेटीहरुको आगमण दोलखामा हुन्छ । कालिञ्चोकप्रतिको मोह पछिल्ला दिनहरुमा ठूला सहरभित्रका धनाढ्यहरुबीचमा छ । शैलुङका सयवटा थुम्काहरुमा पाइला राख्न लालयितहरुको संख्या बढिरहेको छ । नेपालको साहसिक जल पर्यटनहरुमध्ये तामाकोसीलाई पनि छानिएकाले जलयात्राका लागि स्वदेशी र विदेशीको आगमन भैरहने नै भयो ।
भीमेश्वर मन्दिर र दोलखा सहरलाई प्राचीन स्वरुपमै जीवित राख्नसक्दा नेपालकै एक उत्कृष्ट गन्तव्य बन्नसक्ने छ । त्यहाँका हरेक वस्तुहरुसँग प्राचीन नाता सम्बन्ध जोडिएकाले पर्यटकहरुको रोजाइमध्येमा पर्छ नै । रोचक सुसंस्कृत सीमान्तकृत थामी जातिको उद्गमथलो राङ्राङथलीमा धामीहरुका मन्त्रशक्ति र पूजाविधिहरु आफैंमा पर्यटकहरुका लागि रोचक र अध्ययन अनुसन्धानको विषय बन्न सक्छ । जातजातिको विविधताभित्र रमाइरहेका दोलखाका गाउँबस्ती आफैंमा सुन्दर, रोचक, जिज्ञासु छन् ।
दोलखाका खोलाहरुमा दर्जनौ हाइड्रो पावरहरु जन्मिएका छन् । हाइड्रो हव पर्यटनको चर्चाले लगानीकर्ताहरुलाई दोलखामा तानिरहेको छ । भर्जिन हिमाल गौरीशङ्कर आरोहणको प्रतीक्षा र कौतुहलताले भरिएको हिमालय क्षेत्रभित्र पर्छ । रोल्वालिङ क्षेत्र पदयात्रीहरुको उत्कृष्ट गन्तव्य नै हो । हिम चितुवा, रेडपाण्डाजस्ता कयौं दुर्लभ जन्तुहरुको घर गौरीशंकर संरक्षण क्षेत्र विश्व परिदृश्यमा चर्चित थलो हो ।
यस्ता धेरै क्षेत्रका आकर्षणहरुले दोलखा पर्यटन क्षेत्रमा लगानीका लागि सुरक्षित छ । दुईतारे झण्डा गाडिएको होटलको स्थापनापछि दोलखाले अरु लगानीहरु पनि तान्ने सम्भावना बढेको छ । हैसियतअनुसार राम्रो ठाउँमा बसेर खर्च गरौ न त भन्ने खालका तहतहका होटलहरु भीमेश्वर नगरभित्र छन् । ताराहरु थपिएका होटलहरु अझ थपिँदै जाउन भन्ने आशा हामीमा छ ।
पछिल्लो समयमा पर्यटन पूर्वाधारमा स्थानीय तहहरुले लगानी बढाइरहेका छन् । स्थानीय मौलिकतामा आधारित पूर्वाधारहरु बन्दै गएमा पर्यटनमा थप योगदान हुनसक्छ । अर्कोतिर इतिहासका हरेक संरचनाहरु जीवित भैरहन सक्छ ।
लगानीको सुरक्षा सरकारले गर्ने वातावरण वनेमा नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ढकालले नेपालका ठूला घरानाका व्यवसायीहरु दोलखामा साझेदारी गर्न तत्परता देखाउन सक्ने आशा देखाउनु भयो । नेचरसँग जोडिएका पर्यटन पूर्वाधारको खाँचो रहेकाले लगानीकर्ताहरु दोलखा जाँदा भविष्य उज्यालो रहेको उहाँले बताउनुभयो ।
झण्डै दुई दशकसम्म खरिद र बिक्रीमा बढी अनुभव प्राप्त सफल व्यवासायी दिनेशजीको होटल उद्यमको पाइलाहरु पनि सफल हुने शुभकामना उहाँले दिनुभयो ।
आइतबार बिहान एम्ब्रोसिया होटलमा कफी पिउँदै पूर्व पर्यटनमन्त्री एवं नेता आनन्दप्रसाद पोखरेलले मेरो जिल्लामा पनि टु स्टार होटल छ भन्न पाएँ भन्नुभयो । यस अर्थमा पनि एम्ब्रोसिया होटल दोलखाको पहिचान थप भएको छ । यहाँ आउने पाहुनालाई चाहिएको सुविधान यसले दिनेमा यहाँका अग्रजहरु विश्वस्त छन् ।
होटल एम्ब्रोसियामा अति नै सुविधायुक्त ३५ कोठा छन् । एकपटकमा एक सय जनाले आरमदायी बसाइँ गर्न सक्छन् । दैनिक तीन हजारदेखि सात हजार मूल्यका कोठाहरु छन् । चौथो र पाँचौं तला आवासीयस्थल बनाइएको छ । पाँचौं तलामा रेष्टुरेन्ट र पाँच सय जना अट्नसक्ने पार्टी प्यालेसको व्यवस्था छ । कार्यक्रम हलहरु छन् । छैटौं तलामा खुला भ्यु–रेष्टुरेन्ट र सातौं तलामा भ्यु–प्लेस क्याबिन बनाइएको छ । त्यहाँबाट दोलखा जिल्लाका कयौ बस्ती र भूभाग देखिन्छ । भुईतला पार्किङको लागि छुट्याइएको छ । सातौं तलासम्म लिफ्टको व्यवस्था छ ।
एम्ब्रोसिया अर्थात् अमृत । अमृत अर्थात् भगवानको खाना । नामअनुसारका खानाको गुणस्तर कायम राख्नु होटलको पहिचान ठानिएको छ । नेपाली परिकारमा मिहेनत गरिने होटलको प्रतिज्ञा छ । खानाको परिकारहरु र मौलिक वस्तुहरुको कोशेली स्टलको व्यवस्थाले त्यस्तै झल्को दिन्छ । समग्रमा होटलको चौतर्फी फन्को मारेर आतिथ्य स्वीकार गरिसक्दा एम्ब्रोसियाको मधुशालामा पारखीहरुको मनहरु हराउँछ ।
भवनबाहेक होटल तयारीका लागि १३ करोड लागानी पहाडी जिल्लाहरुका लागि सुखद सुरुवात भएको मेरो ठम्याइ छ । व्यापारिक भवन पनि दोलखा जिल्लाको ठूलोमध्येमै पर्छ । भवनका तेस्रो तलासम्म पसलहरु मार्ट, बैंकहरु र कार्यालयहरु छन् । आफैंमा एउटा गन्तव्य बनेको भवन र होटलले चरिकोटको निश्चय नै शोभा वढाइदिएको छ । बधाई र व्यावसायिक सफलताको हार्दिक शुभकामना होटल एम्ब्रोसियालाई ।
(लेखक, सञ्चार तथा सूचना मन्त्रालयका पूर्वसञ्चार विज्ञ हुनुहुन्छ ।)
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
