• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

‘फकलीको गाउँ’ पढ्दा …..


  • खुला नेपाल
  • सोमवार, साउन ११, २०७८
  • 22.1K
    SHARES

काठमाडौं । लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको पनि केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ मा समावेश गरिएको छ ।

यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाइस गुच्छाहरूको संगालोको रुपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गर्नुभएको छ ।

कृतिमा ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेश, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्कोको अनुभवन यस पुस्तकमा राखिएको छ ।

यस्तै कृतिकार सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोँच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको जिल्ला जाँदा र मेलवर्न घुम्दाजस्ता शीर्षकमा लेखकले यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्य पस्कनु भएको छ ।

धरणीमा मेरो यात्राबाट सुरु गरिएको कृतिमा सम्बन्धित केही तस्बिर पनि समावेश गरिएको छ । यी तस्बिरले लेखकको यथार्थतामा स्पष्टोक्तता दिएको अनुभूत गराउँछ ।

कृतिमा लेखकले उहाँका जीवनका बाल्यकालदेखि यौवनसम्मका स्मृतिहरू, विद्यार्थीकालका अनुभव र अनुभूति, जागिरे जीवनका भोगाइ एवं अवकाश प्राप्त जीवनका अनुभवहरू जस्ता चार कालखण्डलाई बढो रोचक, सन्देशमूलक, तथ्यपरक र ज्ञानबद्र्धक रुपमा पस्किएको साहित्यकार खेमनाथ दाहाल बताउनुहुन्छ ।

‘लेखक लेखनाथ पोखरेलले अत्यन्तै सरल भाषा र पठनीय शैलीमा ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक र राष्ट्रियचेतले ओतप्रोेतयुक्त यात्रा विवरणका रुपमा प्रस्तुत गर्नुभएको छ कृतिमा’, स्रष्टा दाहालले भन्नुभयो ।

आफूले देखेका भोगेका अनुभूति र यात्रा विवरणलाई यस कृतिमा उतार्ने कोसिस गरेको भन्दै पोखरेलले ‘आफ्नो अतीतलाई उधार्ने र आफ्नो स्मृतिलाई तिखार्ने प्रयासपछि बितेका क्षणका अनगिन्ती कुराको स्मरणको ठूलै संगालो आफूभित्र जम्मा हुन पुग्यो, ती सबै संस्मरणलाई लिपिबद्ध गर्ने जमर्कोले यो कृति तयार भएको हो’, भन्नुभयो ।

पत्रकार लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण/आकृति/वर्णविन्यास रहेको छ । सावित्री पोखरेल प्रकाशक रहनु भएको २१४ पृष्ठको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया