अँगालोबाट फुत्किएको ऊ
अचेल आकाशमा झुल्किन्छ
नियालेर हेर्छु
कहिले दारी पालेर आउँछ
कहिले कपाल फालेर आउँछ
कहिले हात फिजाएर आउँछ
कहिले बाजा बजाएर आउँछ
छिनभरमै अलप हुन्छ
झल्यास हुन्छु, आँखा पुस्छु
हत्केलाभरि उसैको
जवान तरला आकृति बन्छ ।
बाई पङ्खी घोडामा
सवार हुन्छ
करेली खिचेर भाग्छ
लमक लमक लम्किएर
हराउँछ
भुरर उडेर जान्छ
एकछिन पनि न अडिइकन
सरासर अघि बढ्छ
लुसुक्क भित्र पस्छ
आकाशको आकृति
बादलसँगै उडेर जान्छ
हावाको झोक्काले उडाएर लैजान्छ
तर उसको झझल्को
मनमा अटसमटस
कुँदिएर बस्छ ।
उसको आकृति
दूधजस्तै सेतो
दही जस्तै बाक्लो
नौनी जस्तै नरम
कोइलामा हालेको
धूप जस्तै नागबेली आकारमा
मगमग छ ।
आकाशमा टहलिँदा पनि
धीत मरुन्जेल हेरेको सहनै सक्दैन
लजालु हुनुको नि हद हुन्छ नि
बेइमान हुनुको नि सीमा हुनुपर्ने
बादलमा मिसिएर
घामका किरण सङ्गै
वायुको साथमा आउँछ
न कराएको सुन्छ
न बोलाएको देख्छ
इशारा बुझ्दैन
एकोहोरो छ
सरासर जान्छ
हावाले उस्को
आकृति बिगारिदिन्छ
कतिचोटि फोटो खिच्न
सेल्फी खिच्न खोज्दा
उसको आकृति बिग्रेर गयो
तुरुन्तै बादल भयो
यता पानी पानी भएँ
ऊ हावा मुनि र माथि
घरी बादल भयो
घरी प्रेमी भयो
आकाशमा बादलको आकृति
हत्केलामा आँसुको आकृति
मनमा धड्कनको आकृति
मस्तिष्कमा नागमणि झैं
उसैको जवान आकृति नाचिरहन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
