• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

फुर्फुर गरिकन नाच्छ जवानी


  • खुला नेपाल
  • आइतवार, साउन १७, २०७८
  • 12.2K
    SHARES

लक्ष्य ??

लक्ष्य अस्ताउने यात्रा होइन
लक्ष्य देखाउने जात्रा होइन
लक्ष्य कुल्चिएर हिड्ने गोरेटो होइन
लक्ष्य भिडमा हराएको बालक होइन
लक्ष्य उल्झन मात्र पनि होइन
लक्ष्य ?

निरासिएका मुहारहरुमा
खुसि छाउने प्रेरणाहरु हुन्
लक्ष्य उद्धेश्य भित्रका
प्रतिविम्बहरु हुन्
लक्ष्य खाली कागजमा भर्ने मसीहरु हुन्
लक्ष्य विहानी पखको
कलिलो घाम हुन्

लक्ष्य झुपडि भित्रका टुकिहरु हुन्
लक्ष्य उज्यालो ल्याउने विहानी हुन्
लक्ष्य भविष्य जाच्ने कसिहरु हुन
त्यसैले त साथीहरु।।।।।।????

थकित भएर निसासिन र निरासिन हुन्न
प्रयासरत पाइलाहरु रोकिन दिन हुन्न
उद्देश्य अवश्य पुरा हुनेछ
अवश्य एक दिन तपाईको भरोसाले
सगरमाथा छुनेछ ।

गंगा दहाल, ललितपुर

*********************************************************************************************************

गुरु बन्दना
छन्दः झ्याउरे

तिमी हौ माता तिमी हौ पिता तिमी हौ बान्धब
तिमी नै कृष्ण तिमी नै भिष्म तिमी नै पाण्डब।
तिमी हौ ब्रम्हा तिमी हौ बिष्णु तिमी हौ महेश
हौं शिष्य तिम्रा पालन गर्ने हरेक आदेश।।
।।१॥

तिमी हौ साथी तिमी हौ संगी तिमी हौ दौलत
सफल हुनी थियो यो जुनी पाए त्यो संगत।
तिमी नै व्यास तिमी बाल्मिकी तिमी नै आचार्य
अपूर्णलाई पूर्णता दिने हाम्रा यी हर् कार्य।।
॥२॥

बेदका ठेली बाणी हुन् तिम्रै मुखार बिन्दुका
हामी त खाली हौं एक बुॅद अपार सिन्धुका।
गायत्री मन्त्र गीताका श्लोक साराका सर्जक
तिमी मै भक्ति र भाव रहोस् हाम्रो यो भर्सक।।
॥३॥

तिमी हौ दाता ज्ञानको भने हामी हौं भिकारी
आभार पारी दिलाऊ हाम्रो स्तुति यो स्वीकारी
पारस मणि हो तुच्छ भेटी त्यो तिम्रो सामुन्ने
हौं एक लव्य चढाउँ के नै क्यै छैन ना भन्ने।।
॥४॥

रातीका जून दिनका घाम तिमी यो धर्तिको
सजाई राख्छौं शीरमा सदा महान अर्ति त्यो।
जलाई आफू दिलायौ ज्योति अँध्यारो हटी गो
सागर भव तिमी नै डुंगा बनेर कटी गो।।
॥५॥

अज्ञानी थियौं पिलाई प्याला ज्ञान नै दिलायौ
बसेर आफू जॅहाको तॅही संसारै हिलायौ।
फेरिन्छ युग फेरिन्छ चोला तिमीले चाहेमा
निर्जीव पनि सजीव बन्छ त्यो साथ पाएमा।।
॥६॥

पिताका पनि पिता हौ तिमी देवका देवता
तिमीमै मिल्छ आमाको न्यानो माया र ममता।
कठिन बाटो लाउने पार तिमी हौ साधन
यस्ता हे गुरु तिमीमा हाम्रो छ अभि बादन।।
॥७॥

घनश्याम पौडेल, सृजना चोक पोखरा

*********************************************************************************************************

जागीर जीवन

कहाँको जन्म कहाँको कर्म
रोजि रोटी कमाउँनु नै मेरो धर्म
दत्तचित्त भै
एकलास जंगलमा हौ
या
ब्यास्त शहरका
गगनचुम्बी महलमा
जहाँ भएनी
जसो गरेनी
कर्म गर्नुछ तिमिले
घाम पानी सहेर
आँधी बेहेरी खपेर
न उँधो
न उभो
निरन्तर निरन्तर
खट्नु पर्ने
यो कस्तो जागिरे जीवन१
पर
क्षितिजको टिलपिल बत्ति हेरी
एकान्त सडकमा
आफ्नो रफ्तार लिइ रहका
मोटर गाडीका गतीहरु
चराचुरुङ्गी

झ्याउकिरीहरुको
भाक फेरि फेरि
निस्केका आवाज र धुनहरु
सहपाठीका
थकित सुस्केराहरु
कठै१
जागिरे जिन्दगी१
बिरानो ठाउँ
बिरानै भाषा
अनि
रहन
सहन
सबै अचम्मको
हुँदा रहेछ
यो
जागिरे जीवन
देशीहरु
बिदेशीहरु
को
काहाको
को कस्तो
ठम्याउन गाह्रो
गर्न नजान्दा निक्कै सारो
खटिनु पर्ने
नियम र कानुन भित्र रहेर
सहनु पर्ने
चाहे
त्यो घरदेशको
जागिर हो
या
परदेशको
जागिर त जागिरै हो
आफ्नो
मेहेनतका
पारिश्रमिक लिन
दिन गनी गनी
कुर्नु पर्ने
अलि ढिलो भयो
कि
अतालिनु पर्ने
घरका हरेक
सदस्यका आवश्यकता
पूरा गर्नु पर्ने
बिचरा,
जागिरे जीवन
नमान पिर
नमान चिन्ता
तिमी
सुकिला
फुकिला
जे जस्तो देखिएनी
तिमी
मात्रै जागिरे हौँ
जागिरे !

सायुसुसन राई ‘चरन’

*********************************************************************************************************

भोको पेटमा शुभकामना

के दिउऊॅ म तिमिलाई
शुभकामना रु
यो भोको पेटमा
दुई दिने
जिन्दगीमा
छ, अभावै अभाव
अहिले खायो
भरे के खॉऊ
भरे खायो भोलि
के खाऊॅ
बिहान बेलुकाको
छाक टार्न
मुस्किल परेको
बेलामा।
के दिऊॅ
म तिमीलाई
शुभकामना रु

यो भोको पेटमा
भित्र आँसु
लुकाएर बाहिर
हाँसो देखाएर
हॉसेको छु।
सबको नजरमा
दरिद्र भएर
बॉचेको छु।

के दिऊॅ म
तिमिलाई
शुभकामना रु
यो भोको पेटमा
हातका नङ्रा
खियॉउदा
पनि जिउँनलाई
धौ धौ परेको
बेलामा
के दिउँ म
तिमिलाई
शुभकामना

यो भोको पेटमा
यो भोको पेटमा

के दिउँ म तिमिलाई
शुभकामना।
यो भोको पेटमा।
सबैका घरमा
दशै आउँछ
तिहार आउँछ
आफ्नो घरमा
सधै जहर आउँछ
लाउनलाई एक
सरो लुगा छैन
सधै अर्काले
देको जडौरो छ

के दिऊॅ म तिमीलाई
शुभकामना रु
यो भोको पेटमा ,
यो भोको पेटमा।
अस्तु

सरस्वती श्रेष्ठ

*********************************************************************************************************

विविधता

छन् कुनै महलमा सुख भोग्दै
छन् त क्वै रहरमा सुख बुन्दै
छन् कुनै कहरमा भिख माग्दै
छन् क्वै गरिबका मन चुस्दै ।१।

भोकले छटपटी पिर साह्रो
बाँच्न झन् गरिबका पल गाह्रो
छन् विचार मनमा सब भिन्न
शान्ति छैन मनमा सब खिन्न ।२।

क्वै धनी छ मनको छ दरिद्र
स्वाभिमान तल गो छ विचित्र
पिल्सिँदै कहरमा जन कोही
मख्खिँदै छ त यहाँ किन कोही ।३।

छन् यहाँ परिश्रमी अति खट्छन्
छैन पौल किन हो तल पर्छन्
खस्दछन् गरिबका भल आँसु
कैँ छ भव्य मदिरा अनि मासु ।४।

न्याय दिन्छ कसले अब सोचौँ
दुर्दशा मुलुकको अझ खोजौँ
पढिन्नन् कहरमा किन वेद
उर्लियो दिनदिनै मतभेद ।५।

यज्ञलाल सुवेदी, बुटवल रूपन्देही

*********************************************************************************************************

जवानी

फुर्फुर गरिकन नाच्छ जवानी
चलपल सकेर बन्छ कहानी
जबजब मनमा खटपट बढ्ने
असहज भैकन तन पनि ढल्ने ।।१

बनिदिनु अबिरल सेवक दानी
भरिदिनु प्रेम जाग्ला जवानी
तनमन सब दुस्ख हर्नु सारा
जगमग जगमा छर्नु छ तारा ।।२

हरपल सबतिर भिजाइ माटो
पल पल नबनोस् कतै नि बाँझो
सरल शीतल छ निवास हाम्रो
बस्नुछ सहज मिलीकन राम्रो।।३

किरण छरीकन उज्वल पार्दै
भुवन तलमा सुख शान्ति भर्दै
सुन्दर फूल छ जीवन हाम्रो
बन जवानी अझ धेर राम्रो।।४

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा

*********************************************************************************************************

सपना

एभोगाडो,
आँखभरि सपना बोकेर ,
मेरा यी थरथर हातहरूले,
खाल्डो खनेर मल हालेको छु,
तिमीलाई आज सारेको छु ,
सहजहोस् सर्न भनी
पानी पनि हालेको छु ।
बाचा गर्छु म, सकेसम्म अझै
सूर्य सम्झेर, तुलसी सम्झेर
पानी चढाउने छु ।

एउटा सपना सजाएको छु मैले,
मेरो अनुपस्थितिमा पनि तिमी
चारैतिर हाँगा हाल्ने छौ,
झप्कदै र लम्कदै जाने छौ,
सूर्यलाई भेट्न ।

वरपर नियाल्नू सधैँ ,
फुल्नू , फल्नू , छहारी दिनू
अरू कयौँ नयाँ बिरुवा दिनू ,
मानिसको नयनमा खुसी दिनू तिमी ।
टाढाबाटै म हेरीरहेको हुनेछु ,
मेरा यी सपना साकार पार्नू तिमी ।

केशवप्रसाद ढकाल, प्रीतबीजु
सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा

*********************************************************************************************************

हीरा

पृथ्वीको पूर्वी देशान्तरको
उत्तरी गोलाद्र्धमा
एक सानो हिस्सा ओगटेर
एउटा अमुल्य हीरा
लमतन्न सुतेको छ
ठान्छन् यस्लाई कुनै
मासुधारी जनाबरको हड्डी हो
मजाले चुस्नु पर्दछ
अनन्त काल देखिनै
दाह्रे सिंहका अनगिन्ती
जथ्थाहरुले
यस्लाई कति चुसेर गए
लेखा जोखा छैन

युग बदलियो
प्रवृति उस्तै छ
हड्डीका वरिपरि बाघ छन्
बाघका वरिपरि
ब्वाँसाहरु छन्
स्याल छन् कुकुर छन्
आकासबाट चिहाएर
बसेका गिद्ध
र चीलहरु छन्
तर हड्डीलाई होइन
तिनै जनावरलाई विस्तारै
भुसुनाले निलिरहेछ
उनीहरुलाई प्रवाह छैन
आफूलाईनै नचिन्ने
अन्धा जनारहरूले
चिन्द‌ैनन् आफूले
पाएको हीरा।

पुष्पा नेपाल सुवेदी, इलाम

*********************************************************************************************************

अन्धआवेग
गद्य कविता

मान्छे
सबै प्रा‍णीभन्दा फरक
र सर्वश्रेष्ठ
प्राणीका रूपमा
मानिएको त सर्बबिदितै छ
यति हुँदाहुँदै
कहिलेकही
मन परिवर्तन
व्यबहार परिवर्तन हुन्छ
सानोतिनो कुरामा
ढुङ्ग्रोको पानी पोखिएझैँ
दूध उम्लिएर पोखिएझैँ
पानीमा तेल तर्किएझैँ
भक्मिलोको काठ
पट्किएझैँ
भीरको ढुङ्गा झरेझैँ
परालको आगो बलेझैँ
के हुन्छ रु
कसो हुन्छ रु
कति फाइदा
कति बेफाइदा
सोच्दैन
इज्जतको डर
राख्दैन
बिगत के थियो
र भविशष्य कस्तो होला
के हुने हो सोच्दैन
म के गर्दै छु
सही
या गलत
कुन बाटो रोजेँ
थाहा नपाइ आवेगमा
आउने कसैको
जिन्दगी सिसा फुटेझैँ
न जोडिने गरी
बर्बाद हुन्छ त
कसैको
ज्यान जान सक्छ
कसैको भविष्यका
सुन्दर सपना
छिनकोछिन्
झिरिप
पारी दिन्छ
अन्धआवेगमा
सबैको
एकै नास पनि हुन्न
कहिले कहीँ
अन्धआवेगले
राम्रो काम पनि गर्छ
हत्या
हिंसा
अत्याचार
भइरहेको स्थानमा
अन्धआवेगले
एउटा अनुसन्धान गरी
सहीलाई सही
र गलतलाई गलत
भन्न सक्यो भने
पीडितले राहत पाउँछ
निसाफ पाउँछ
घनले
खुकुरीले चोट मात्र दिदैन
ढुङ्गा फुटाएर
राम्रो घर बनाउन सकिन्छ
खुकुरीले
काटेको वस्तुबाट
उपयोगी काम हुन सक्छ
समग्रमा
भन्नु पर्दा अन्धआवेगमा
भरसक नआउनु नै
हुन्छ फाइदा
बढी हुने
महसुस गरेकी छु ।।

तारा घिमिरे, संखुवासभा

संयोजन : गंगा दहाल

 

प्रतिक्रिया