तुर्लुङ खेलेरै पनि
काली तर्दै गर्दा
जल्लादले पारी
तुइन काट्दियो
जयसिंह भेलमा
अलप भए
वारिपट्टि डिलमा रुदैछौँ ।
हाम्रा बस्ती
चुर्लुम्म हुनेगरी
दस गजामा बाँध बाध्यो
हाम्रा गाउँ-घर , गोठ कटेरा
आगन- दलान, ओछ्यान-चुल्हो
लाउने खाने भत्तेर भए
हामी कहालियौ ।
बर्खामा उर्लेको
कोशीको ढोका थुन्दियो
पूर्व जलमग्न भयो
धानखेत बगर भयो
आगन पोखरी बन्यो
दलान तलाउ बन्यो
हामी भिजेर मुसा भयौँ ।
बिरताको चिनो
हाम्रा जोशिला
जङ्गे पिल्लर ढाल्दियो
सिमाको नामो निशान
पार्दियो
दशगजा मिच्दियो
हामी लडिरह्यौ ।
कहिले नुन रोक्दिन्छ
कहिले तेल रोक्दिन्छ
नाकामा उभिएर
बाटो छेक्दिन्छ
नाकाबन्दी गर्दिन्छ
घरीघरी आतेस छर्दिन्छ
सकस पार्दिन्छ ।
हामी थिचिएका, मिचिएका
पिधिएका पिल्सिएका छौँ
बारम्बार थिचोमिचो गर्ने
जल्लादलाई मुटु थिचेर
माफी चाहिँ दिन्छौं
तर,
कहिल्यै बिर्सने छैनौँ ।।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
