काठमाडौं । सामुदायिक आत्मनिर्भर केन्द्रले शनिबार काठमाडौंस्थित भूमिघरमा ‘दि मिल’ अभियानअन्तर्गत भव्य कार्यक्रम गरेको छ ।
प्रत्येक वर्ष अंग्रेजी तारिकअनुसार सेप्टेम्बर महिनाको तेस्रो वा अन्तिम शनिबार विश्वभर दि मिल अभियान सञ्चालन गर्ने गरेको हो । सन् १९९९ देखि मनाउन थालिएको दि मिल एउटा विश्वव्यापी अभियानको रुपमा लिइएको छ ।
यस अभियानमा मानिसहरु जम्मा भई अर्गानिक खाना खाने आफ्ना चासोका विषयमा छलफल गर्ने गर्छन् । त्यस दिन त्यहाँ खाएको खानाको शुल्क निश्चित तोकिएको हुँदैन र निःशुल्क पनि होइन । खाना खानेले त्यसबापत आफ्नो इच्छाअनुरुप अभियानमा पैसा सहयोग गर्ने गरिन्छ ।
यो अभियानको दिन उठेको रकम आयोजकले पनि खर्च गर्न पाउँदैनन् । त्यो रकम कुनै खास विशेष कामका लागि उपयोग गरिन्छ ।
हिलेसम्मको प्रयोगमा यो दिन खाना खानेले स्वईच्छा दिएको रकम न्यूनतम गरिब समुदायको बालबालिकाको शिक्षामा लगाउने गरिएको छ ।
भूमिघरमा शनिबार गरिएको कार्यक्रममा खासमा खाना र खेतीपातीबारे छलफल भएको थियो । खेतीपाती र खानपानसम्बन्धी असल संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम महत्वपूर्ण भएको सहभागीहरुले प्रतिक्रिया दिनुभएको थियो ।
आजको दि मिल अभियानमा उठेको रकम धनुषास्थित धनौजी गाउँपालिकाको धनौजी गाउँका हरुवा–चरुवा परिवारको बालिकाको शिक्षामा उपयोग गरिने कार्यक्रमको अन्तिममा आयोजकले जानकारी दिएको छ । धनौजी गाउँका हरुवा–चरुवाहरु भूमिहीन र गरिबीको दुष्चक्र व्यहोरिरहेका छन् ।
प्राकृतिक स्रोतको दिगो उपयोग, स्वस्थ एवं पौष्टिक खाना र कृषकको पहिचान तथा सम्मानको विषयमा वकालत गर्ने यो अभियान नेपालमा केन्द्रले ५ वर्षदेखि निरन्तर गर्दै आएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
