काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज भैरहवा जाँदै हुनुहुन्छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको जेड धातुको बुद्धमूर्ति अनावरण गर्न उहाँ भैरहवा जान लाग्नु भएको हो ।
मूर्ति अनावरणको लागि राष्ट्रपतिको आगमन सुनिश्चित भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिनुभयो । उहाँले आइतबार साढे १२ बजेदेखि विमानस्थलमा मूर्ति अनावरण गरिने कार्यक्रम भएको बताउनुभयो ।
म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्तिको लम्बाई १ मिटर र चौडाई ६० सेन्टिमिटर तथा तौल १ हजार ८ सय किलोको रहेको लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले जानकारी दिनुभयो ।
उहाँले लुम्बिनीमार्फत समग्र नेपाललाई नै अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन मूर्तिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साढे दुई अर्ब लागत लागेको यो मूर्ति केही दिनअघि भैरहवा विमानस्थल ल्याइएको हो ।
राष्ट्रपतिसँगै कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण पनि मूर्ति अनावरणमा जानु हुनेछ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
