• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

त्यागीको ‘साँघुरो सुर्को’


  • खुला नेपाल
  • आइतवार, कार्तिक १४, २०७८
  • 5.6K
    SHARES

काठमाडौँ । युवाकवि विकल त्यागीद्वारा रचित कविताहरूको सङ्ग्रह ‘साँघुरो सुर्को’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा आयोजित कार्यक्रम प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार भूपाल राई र समालोचक तथा कवि डा. विन्दु शर्माले सार्वजनिक गर्नुभएको हो ।

कविता संग्रहको लोकार्पण गर्दै कवि राईले पुस्तकको विमोचन भनेको आम पाठकसामु नयाँ कृति आएको सूचना दिनु भएको बताउनुभयो । ‘त्यसका साथसाथ म त्यागीका कविताभित्र पस्न चाहन्न,’ उहाँले भन्नुभयो, ‘उहाँको सङ्ग्रहमा मैले छोटो भूमिका लेखिसकेको छु । र, आजका वक्ता डा. विन्दु शर्माले रचनाबारे विहङ्गम रूपले आफ्ना धारणा राखिसक्नुभएको छ ।’

कविता हिजोको अधिकांश कविहरूले लेख्नेजस्तो श्वैरकल्पनाले भरिएको झन्झटिलो नभएर आज आम मानिसको र आफ्नो भोगाइ भएकाले अबको कविता लेखन र पठनले केही फड्को मारेको उहाँको भनाइ थियो । यद्यपि, कविताका पाठक अझै पनि सीमित रहेको उहाँ बताउनुहुन्छ ।

यसो हुनुमा कविताहरू आममानिसको पहुँचमा नपुग्नु वा रूचिकर नहुनूमात्र होइन कविता लेख्दा स्तरीयतामा पनि ख्याल गरिँदैन । ‘खासमा कविता भनेको नदीमा रहेका चट्टानलाई घरमा ल्याएर मूर्तिको आकृति दिने कोसिस गर्नु वा सुन्दर मूर्ति तयार गर्नु हो,’ उहाँ भन्नुहुन्छ, ‘कविता, गीत वा साहित्य भनेको समाजमा देखिइरहिएका या भोगिइरहिएका वास्तविक घटनाहरूलाई विषयानुरूप सौम्य र विशिष्ट भाषाद्वारा निर्माण गर्नु हो, कविता आममानिसको भाषाको सम्यक र संष्लेषित रूप पनि हो ।’

त्यागीले उठाएका विषयहरू अत्यन्तै जटिल हुँदाहुँदै पनि प्रस्तुतिमा केही कमी रहेको देखिन्छ । जो आउने दिनमा सुधार हुने नै छ भन्ने आफूले विश्वास लिएको कवि राईले बताउनु भयो ।

रचनाहरूमाथि टिप्पणी गर्दै अर्का अतिथि डा. विन्दु शर्माले त्यागीका कविताहरूको मुख्य विषयहरूमा राजनीति, समसामयिकी र व्यक्तिगत भावुकता रहेको बताउनुभयो । त्यागीभित्र कविव्यक्तित्व ट्ड्कारो रहेको यद्यपि, सङ्ग्रह प्रकाशनमा अलिक हतारो भएको हो कि भन्ने उहाँको शंका थियो ।

कार्यक्रमका अतिथि, डा. चेतकुमारी गुरुङले लेखकप्रति शुभकाभमना दिँदै आफ्नै गाउँको भाइले यति राम्रो कृति पाठकमा पस्किएकोमा हार्दिक बधाई दिनुभयो । तर, गुरुङहरूमा पठन संस्कृतिको निकै कमी रहेकाले यस्ता कृतिलाई हामीले खोजीखोजी पढ्न सके सर्जकलाई थप ऊर्जा मिल्ने उहाँको भनाइ थियो । कार्यक्रमका अतिथि समाजसेवी यादव गुरूङ, मदन रिजाल, सीताराम गुरूङ आदिले शुभकामना दिनुभयो ।

नवराज गुरूङको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कवि त्यागीले धन्यवाद ज्ञापनसहित आफ्ना दुईवटा कविता सुनाउनुभयो । पूर्व शिक्षक एवं समाजसेवी रत्नबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रमको आदिम आवाज अनलाइन टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया