• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

हुम्लीको व्यथा र कथा सरकारलाई के थाहा ?


  • विद्या बुढा
  • आइतवार, कार्तिक २८, २०७८
  • 18.4K
    SHARES

आज बिहान म सुतिरहेकी थिएँ । एकजना बहिनीको फोन आयो ।

दिदी दर्शन, सन्चै हुनुहुन्छ ? दिदी मलाई तपाईंको सहयोग चाहियो म त बर्बाद भएँ । उनले भनिन् ।
मैले हतारिँदै सोधे – के भयो नानी ?

‘दिदी सिमिकोट आएको ५ दिन भइसक्यो अझै हवाई जहाजको टिकट पाउने टुंगो छैन । परीक्षा दिन सुर्खेत जानु पर्ने थियो तर टिकट नपाउँदा एउटा परीक्षा छुटिसक्यो ।’ उनले भनिन्, ‘अब बाँकी परीक्षा भएपनि दिन जाउँ भनेको त्यो पनि छुट्ने पीर लाग्या छ। जहाजको टिकट भाडा भनेर ल्याएको पैसा पनि होटलमा बस्दै सकियो ।’

जहाजको टिकट पाउन साह्रो मुस्किल भएको सुनाउँदै उनले दुखेसो पोखिन् । ‘यहाँ विमानस्थलमा टिकटको कालोबजारी भइरहेको छ ।’ उनले फेरि थपिन्, ‘पावर र पहुँचवालाहरुले मात्रै उड्न पाइरहेका छन् । ‘

उनले आफूसहित अन्य धेरै जना अलपत्र परेको सुनाइन् । त्यसमा पनि धेरै जसो बिरामी यात्रु रहेको उनले बताइन् ।

ती बहिनीले आफ्नो पीडा बेलिविस्तार लगाइन् । यी सबै कुरा सुनेपछि मलाई निकै नराम्रो लाग्यो ।

अनि मनमा धेरै प्रश्नहरुले डुबुल्की मार्न थाले । के हामी हुम्लामा जन्मिनु पाप हो ? हामी यो देशको नागरिक होइनौँ ?
राज्यले हाम्रो मागलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? हामी हुम्लीको पीडा र समस्या बुझिदिने कसले ?

हुम्लीले कति सहने पीडाहरु । पीडा सहनुको पनि एउटा हद हुन्छ होला नि ? हरेकपटक रोक, भोक अनि शोकको समाचार सुन्दा पनि मन खिन्न भएर आउँछ । हुम्लामा रोक, भोक र शोकको समस्या मात्रै छैन । यहाँ विकास र समृद्धिका थुप्रै संभावनाहरु पनि छन् । जुन कुरालाई राज्यले अझै देख्न सकेन ।

मैले पनि यस्तै पीडा अघिल्लो वर्ष भोगेकी थिएँ । यो वर्ष घर गएकी थिएँ भने उनै बहिनीले जस्तो पीडा भोग्नु पर्ने हुन्थ्यो । हुम्लीले भोग्नु परेको समस्या विकराल बन्दै गएको छ । तर, अवस्था सुधारका लागि काम गर्नु पर्ने सम्बन्धित निकाय मौन बसेको छ । पहिले जस्तो समस्या, अहिले पनि उही छ ।

हुम्लामा मोटर बाटो र गाडी पुग्ने कुरा म बाल्यकाल हुँदैदेखि सुन्दै आएकी हुँ । सडक सञ्जाल जोडिएपछि सहज होला भन्ने हामी हुम्लीको सपना अझै सपनामै सीमित छ । अवस्था ज्यूँ का त्यूँ।

हवाई सेवा नै हुम्लाका लागि एक मात्र निर्विकल्प यातायात सुविधा हो । मोटरबाटो अझै कल्पना बाहिरको कुरा हो । जसका कारण अन्य जिल्ला वा मुलुकको केन्द्रीय राजधानीसम्मको पहुँचका लागि हवाई यातायातमै भर पर्नु पर्ने बाध्यता छ । यो बाध्यता हुम्लीका लागि निकै कष्टकर पीडाको रुपमा रहेको छ ।

टिकट नपाएकै कारण समयमा उपचार नपाउँदा बिरामीले अकालमै ज्यान गुमाउनु परिरहेको छ । बाहिरी जिल्ला गएर अध्ययन गरिरहेका विद्यार्थीले समयमै फर्किन नपाउँदा परीक्षा गुमाउनु परिरहेको छ । अन्य थुप्रै समस्या झेलिरहेको हुम्लीका लागि राज्यका तीनै तह सरकारले बेवास्ता गरेको स्पष्ट देखिन्छ । समस्यामा परेका हुम्लीका लागि कुनै निकाय जिम्मेवार बनेको पाइँदैन, केही अपवाद बाहेक ।

म कुनै राजनीतिक दलको कार्यकर्ता होइन । मैले कुनै दल, व्यक्ति विशेषमाथि लान्छना लगाउन खोजेकी पनि होइन ।

राजनीतिमा लाग्नै पर्छ भन्ने छैन, तर राजनीतिक कुरा राम्रोसँग बुझ्न सक्छु । यो समाजको म पनि एक जिम्मेवार नागरिक हुँ । त्यसैले हरेक राजनीतिक दलको गतिविधिलाई नजिकबाट नियालिरहेकी हुन्छु ।

मेरो प्रश्न यो सरकार र अन्य नेतागणलाई आखिर कहिलेसम्म हुम्लीले यस्तो पीडा भोग्नु पर्ने हो ?

हरेक स्थानीय तहमा अधिकार आउँदा पनि किन तपाईंहरु मौन हुनुहुन्छ ? यो देशमा संविधान छ । देशको संविधानले नागरिकको मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । तर, हाम्रा समस्याहरु सुन्छ, हाम्र मागहरु सम्बोधन गर्छ, हामीलाई न्याय दिन्छ भन्ने दिन हाम्रो लागि कहिले आउँछ ?

हरेक क्षेत्रमा शक्ति र पहुँचवालाले मात्रै अगाडि बढ्ने हो भने हामी सर्बसाधारण जनाताको के नै अस्तित्व रह्यो र ?

सिधा अर्थमा हवाइ टिकट नपाउँदा विद्यार्थीले परीक्षा दिनबाट बञ्चित भएभन्दा पनि यसले पार्ने मनोवैज्ञानिक असर, सामाजिक प्रभाव र त्यो विद्यार्थीको सपनाको हत्या भएको कुराको जिम्मा कस्ले लिने सरकार ? यस्ता कुराको सरकारले जिम्मा लिनै पर्छ ।

कस्तो नियम, कानुन अनि प्रहरी प्रशासन हो यो ?

टिकट नपाएर अलपत्र परेका यात्रुको रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको समाचार पनि बाहिर आएको छ। हामी कोबाट परिचालित छौँ ? के हाम्रो धर्म अनि काम यही हो ? ती पीडित पत्रकारलाई केही भयो भने कस्ले जिम्मा लिने ?

गलत नियतले नेतृत्व गर्नेलाई युवाले समर्थन होइन विद्रोह गर्ने हिम्मत गर्नुपर्छ । मेरो हजुर बुबाको पालामा कुरा उठेको हुम्लाको रोड, मेरो बुबा, मेरो अनि भावी सन्ततीले पनि यसै गरी पीडा भोक्नु पर्ने अवस्थाको अन्त्य अहिले नै हुने सम्भावना कम छ ।

टिकटमा भइरहेको कालोबजारी, महंगो भाडा दरलगायतका बेतिथिले जनतालाई सताइरहँदा निगरानी तथा नियन्त्रणमा हेल्लो सरकारको ध्यान केन्द्रित हुन सकेको छैन ।

अर्काे बर्ष पनि यसरी नै हुम्लाका दर्दनाक घटनाहरूले पत्रिकाका पाना नरंगियून, रेडियाे र टीभीमा चीत्कार नगुन्जियून सरकार। समयमै दरकार हाेस् सरकार।।।

यस्ता पीडा र समस्या अर्को वर्ष पनि दोहोरिने छन् । पत्रिका, टिभी, रेडियो र अनलाइन मिडियामा हुम्लीका चित्कार आगामी दिनहरुमा नसुनिउन् सरकार !

प्रतिक्रिया