काठमाडौँ । शक्तिशाली तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ।
विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको सेना परिचालन गरिएको छ । उक्त क्षेत्रमा आइतवार राति ठूलो तुफान आएको थियो। त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छन्।
प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताउनुभयो ।
पहिरोमा परेर एक जना महिलाको मृत्यु भएको छ भने दुई बेपत्ता भएका छन्। उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
तुफानका कारण केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको छ। क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ।

त्यहाँ एउटा “वायुमण्डलीय नदी” उत्पन्न भएको थियो। त्यस्तो अवस्थामा उष्ण तटीय क्षेत्रबाट हावा चिसिन लागेको बाफ बोकेर ध्रुवीय क्षेत्रतर्फ बहन्छ।
उक्त अवस्था उत्पन्न हुँदा त्यस क्षेत्रमा एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेको थियो ।
बीबीसीबाट
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
