काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन अन्तरगत आज उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । बिहान उम्मेदवारी दर्ता गरेपछि आजै दावी विरोध र उम्मेदवारको अन्तिम सूची प्रकाशित लगायतका आवश्यक तयारी सकेर भोलिमात्रै मतदान हुने भएको छ ।
महाधिवेशन सुरु भएको दोस्रो दिन बिहीबार प्रतिनिधि चयनको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया सुरु हुन सकेको थिएन । विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देन पक्षले जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरेको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले समितिनै बनाएर छानबिन गरेर विवाद टुङ्ग्याएको हो।
प्रतिनिधि चयन विवाद टुङ्गिएपछि निर्वाचन समितिले गएराति ४ हजार ४७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गर्नेछन् । सूचीमा अहिले विहानसम्म दावी विरोध गर्ने समय दिइएको र त्यसपछि अन्तिम सूची प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन कमिटीले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन पर सर्ने भएको छ । यसअघि बुधबारदेखि राजधानीमा सुरु भएको राप्रपाको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने कार्यतालिका थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
