• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम


  • खुला नेपाल
  • आइतवार, मंसिर २६, २०७८
  • 3.8K
    SHARES

काठमाडौँ । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा हिजो (शनिबार) को तुलनामा आज बढी चिसो महसुस भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकामा यस वर्षकै कम तापक्रम मापन भएको छ ।

महाशाखाले बिहान पौने ९ बजे जारी गरेको तथ्यांकअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै अधिकतम तापक्रम १९ दशमलब ८ डिग्री रहेको छ ।

विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । ‘यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो लुगा लगाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

जुम्लाको तापक्रम माइनस ४.५ डिग्री मापन भएको छ । त्यहाँ अधितम तापक्रम १५.९ डिग्री रहेको छ ।

तराईमा पनि चिसो बढेको छ । तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । धेरै गर्मी हुनेमध्येको नेपालगन्जमा न्यूनतम तापक्रम ९.८ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ । विराटनगरको न्यूनतम तापक्रम ९ र अधिकतम २५.३ मापन भएको छ ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ,’ महाशाखाले भनेको छ ।

आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया