• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

काव्य साँझमा बान्तुको सिर्जना

साहित्यिक सिर्जना कति शक्तिशाली हुन्छ भन्ने बान्तुको काव्य साँझले प्रस्ट्याएको छ


  • खुला नेपाल
  • आइतवार, पुस ४, २०७८
  • 12.3K
    SHARES

काठमाडौँ । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदै थियो । कार्यक्रम कक्षमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो:

‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिए छ घात भयो जिन्दगी ।’

नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनासाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी । त्यसपछि सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’ को औपचारिक आरम्भ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गराउनुभयो ।

त्यसपछि कवि तथा प्राज्ञ शशि लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पार्नुभयो । उहाँले माझ किरातको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा–नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा यस सुन्दर धरतीमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ, कवि शशिले यसरी चिनाउनुभयो बान्तुलाई ।

उहाँले अझ अघि भन्नुभयो, “काव्य–नायक बान्तुका बारेमा केही बोल्ने प्रयत्न गर्नु भनेको सूर्यको अघि बत्ती देखाउनुजस्तो मात्रै हो । म यहाँ त्यही सूर्यलाई बत्ती देखाइरहेको छु । बत्ती देखाउनु भनेको पूजा गर्नु हो, अर्थात् अभिनन्दन गर्नु हो । स्रष्टा बान्तुलाई सादर अभिनन्दन गर्दछु ।”

त्यसपछि कवि अमर बान्तुलाई कार्यक्रम सञ्चालिकाले कविता÷काव्य प्रस्तुतिका लागि मञ्चमा निम्त्याइन् । हँसिलो र फुर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरेः

‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एक तर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।’

करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे । त्यसपछि उनले गजल सुनाए– नजरैले घाइते पर्ना माहिर हजुर’ । प्रेमिलो गजलबाट माहोललाई नै प्रेमिल बनाएका उनले मनको भावना सुनाए गजलमै ।
त्यसपछि आफ्नै जिन्दगीका बारे रचना गरिएको गजल– ए जिन्दगी सुनाएर उनले माहोललाई नै स्तब्ध बनाए । अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को जगल सुनाएर कविता/काव्य प्रस्तुतिको मैझारो गरे । दर्शकदीर्घाबाट आएको ‘वान्समोर… वान्समोर’लाई स्वीकार गर्दै पुनः सुनाए– ‘मेरी प्रिय कविता ।’

कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले बान्तु बहुमुखी प्रतिभाका धनी भएको बताए । उनले साहित्य साधनाका साथै व्यावसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गरे । उप्रेतीको भनाइ थियो, ‘बान्तुजीका रचनाहरू जस्तै उहाँमा कविता कण्ठस्त सुनाउने कला पनि बेजोड रहेछ । यो कवितालाई लोकप्रिय बनाउने सन्दर्भमा नयाँ र अनुकरणीय कुरा हो ।”

मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री तथा कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन्स अनन्तत भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सृजनाको कामना गरे । कार्यक्रममा बान्तुलाई कुलपति उप्रेतीले मिलाप सम्मान अर्पण गगरेका थिए ।

अमर बान्तुको कविता तथा गीतसङ्ग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन् । उनका दर्जनौँ गीतहरू लोकप्रिय रहेका छन् ।

काव्य साँझलाई माई पे, सुनकोसी कन्स्ट्रक्सन प्रा.लि, ललितपुर महानगरपालिका वडा ५, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आई, लायन्स क्लब अफ काठमाडौँ, अन्नपूर्ण, लायन्स क्लब आफ आङ्ग्ना, पाँचथर, लायन्स क्लब अफ काठमाडौँ, ग्लोबल सर्भिस र लायन्स क्लब अफ काठमाडौँ, शुभम् तथा लायन्स हरि दाहाल, चाटर प्रेसिडेन्ट लायन्स क्लब अफ काठमाडौँ ग्लोबल आईले प्रायोजन गरेका थिए ।

प्रतिक्रिया