• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु


  • खुला नेपाल
  • शुक्रबार, पुस ९, २०७८
  • 3.9K
    SHARES

तनहुँ । व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानीमा मादीनदी लिफ्टिङ–खानेपानी आयोजनाको निर्माण सुरुआत भएको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अगाडि बढेको हो ।

कूल रु २६ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको पराजुली कन्स्ट्रक्सनले ठेक्काको जिम्मा पाएको छ । विसं २०८० भदौभित्र आयोजनाको सम्पन्न गर्ने गरी सम्झौता भएर निर्माण कार्य अघि बढाइएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

व्यास–५ स्थित मादी नदी किनारबाट व्यास–१ को अमिलीभञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी लैजाने तयारी गरिएको हो । मादीनदी किनारमा पानी लिफ्टिङ गरी अमिलीभञ्ज्याङमा निर्माण गरिने पानी प्रशोधन केन्द्रबाट पानी वितरण गरिने छ । उक्त आयोजनाको निर्माण सम्पन्नपश्चात् प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहेको सो संस्थाले जनाएको छ ।

अमिलीभञ्ज्याङमा पानी प्रशोधन केन्द्रस्थल निर्माणको लागि डोजर लगाएर बाटो बनाउने कार्य थालिएको छ । उहाँले भन्नुभयो, “अब खानेपानीको काम तीव्र गतिमा अघि बढ्छ ।” नेपालभरिको खानेपानी संस्थामध्ये दश वटा खानेपानी आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी संस्था पनि छनोट हुन सफल भएपछि प्रक्रिया अघि बढाइएको थियो । साना ठूला गरी चार योजना तथा आयोजनाबाट प्रतिसेकेण्ड सङ्कलन हुँदै आएको २० लिटर पानी उपभोक्तालाई वितरण गर्दै आइएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिनुभयो ।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ सार्वजनिक धाराबाट सुरुआत भई हालसम्म २५९४ निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । उक्त आयोजना निर्माण सम्पन्नपश्चात् व्यास–१ का पूरै र वडा नं १२ का केही स्थानका बासिन्दाले पानी प्रशस्त मात्रामा प्रयोग गर्नसक्ने संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारीदिनुभयो ।

भादगाउँमा बढ्दो सहरीकरणले अहिलेको पानीको क्षमताले पूर्ति गर्न कठिनाइ देखिएपछि वैकल्पिक पानीको स्रोततर्फ लागिएको उहाँले बताउनुभयो । संस्थाले दीर्घकालीन सोचका साथ पानीको स्रोत जुटाउन हरदम प्रयास गर्दै आएकोले आयोजनाको लागि सरकारले समेत चासो देखाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया