पनौती संघीय राजधानी काठमाडौंबाट करिब ३२ किलोमिटर दक्षिणपूर्वमा रहेको प्राचिन सहर हो । किंवदन्तीअनुसार राजकुमार महासत्वको पाञ्चाल देश नै पुन्यवती हो । यही पुन्यवतीको अपभ्रंश भएर पनौती नाम बन्न पुग्यो । यो सहर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक कारणले महत्वपूर्ण रहेको छ ।
२०७७ साल भदौ महिनामा भेटिएको प्राचिन मूर्तीलाई पुरातत्वविदहरुले २२ सय वर्ष पुरानो भएको लख काटेका छन् । यसले पनौती प्राचिन बस्ती भएको नगर भन्ने प्रमाणित गर्छ ।
इतिहासविद्का अनुसार राजा प्रताप मल्लले ई.सं. १६६५ मा रानी पोखरी बनाउन लगाए । त्यहाँ विभिन्न तिर्थस्थलहरुको पवित्र जल ल्याएर राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखिएको थियो भन्ने भनाइ छ। पनौतीलाई धर्म, संस्कृती र प्रकृतीको त्रिवेणी स्थल मानिन्छ ।
बासुकी नागले पनौतीलाई घेरेर सुरक्षित राखेको विश्वाससाथ यहाँ ढिकी नकुट्ने र जाँतो नचलाउने परम्परा छ । अन्यथा बासुकी नागलाई चोट लाग्छ, पिडा हुन्छ, र अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । त्यसैगरी पनौती सहर एउटै ढुंगामाथि अवस्थित रहेको मानिन्छ । त्यसैले १९९० र २०७२ सालको महाभूकम्पका बेला पनि यस क्षेत्रमा ठूलो क्षती नभएको विश्वास छ ।
पनौती नगर विश्व सम्पदा सूचीमा सूचिकृतका लागि अन्तिम चरणमा पुगेको छ । नगरले पच्चिस वर्ष अघिदेखि सूचिकृतका लागि प्रयास गरेको भएपनि संयुक्त राष्ट्र संघीय निकाय (यूनेस्को) भने हालै मात्र तयार भएको हो ।
१२ वर्षे मकर मेलाका लागि पनौतीका मठमन्दिर, पाटी, पौवा, चोक र घरहरु सफा पारेर रंगरोगन लगाइएका छन् । झल्लर र तोरण टाँगेर सजाइएको छ । ठाउँ ठाउँमा स्वागतद्वार बनेका छन् । सुन्दर नगर पनौती दुलही झैं सिंगारिएर आकर्षक बनेको छ ।
सूर्य मकर राशिमा रहेका बखत पनौतीमा मकर मेला लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन मकर संक्रान्तिबाट सुरु हुने मेला माघ महिनाभर चल्ने गर्छ । त्यसैगरी मकर संक्रान्तिका दिन काठमाडौंको शंखमूल, नवलपरासीको देवघाट, सुनसरीको चतरा, पर्वतको सेतीवेनी जस्ता पवित्र स्थलहरुमा समेत स्नान गर्ने चलन छ ।
यसपाली २०७८ सालको माघ महिनाभर पनौतीमा मकर मेला लाग्छ । पनौतीको त्रिवेणीघाटमा लाग्ने मकर मेला भर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि तिर्थालु आउने गर्छन् । त्रिवेणीघाटलाई त्रिवेणीधाम, शची तीर्थ, उत्तर प्रयाग पनि भनिन्छ । पौराणीक मान्यता बोकेको यो घाटमा दैनिक जन्मदेखि मृत्युसम्मका क्रियाकलाप हुने गर्छन् । सातगाउँ (साँगा, नाला, बनेपा, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौती) का मानिसको मृत्युवरणपछि अन्थेष्टी गरिने पवित्रस्थल हो, त्रिवेणीघाट ।
मकर मेलामा त्रिवेणीघाटमा नुहाई चोखो भएर इन्द्रेश्वर महादेवको दर्शन गर्ने र घाटकै पानी उत्तरतर्फको कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई चढाउने चलन छ । पानी हातको अजुली, हत्केला र कतिपयले बुढीऔंलाको फेदको खोपिल्टो (पृष्टाञ्जली) मा लिएर गई चढाउने गर्छन् ।
आख्यान अनुसार भारतको उत्तर प्रदेशमा दक्षिण प्रयाग पर्छ भने पनौतीमा उत्तर प्रयाग रहेको मानिन्छ । यी दुई प्रयागमा केही समानता छन् । भारतको प्रयागमा गंगा र यमुना नदीको संगममा गुप्तरुपले सरस्वती नदी मिसिएर बगेको मानिन्छ र त्यहीँ कुम्भ मेला लाग्छ । त्यसैगरी यहाँ रोशी
(लिलावती) र पून्यमाता (पद्यमावती) मिसिएको घाटमा ब्रम्हायणी मन्दिरको मुनिबाट गुप्तरुपले रुद्रावती नदी बग्छिन् भन्ने मानिन्छ । तीन नदीहरुको मिलन, त्रिवेणीघाटमा बाह्र वर्षे मकर मेला लाग्ने गर्छ । भनिन्छ, मकर मेलाका अवसरमा रुद्रावतीमा दूध बग्छ । त्रिवेणीमा दूध बगे, देशमा सहकाल आउँछ भन्ने जनधारणा छ । कतिपय अवस्थामा रगत पनि बग्ने गर्छ । यसो भएमा देशमै अनिष्ट हुन्छ भन्ने मान्यता छ । स्थानीय बुढापाका २०२८ सालमा त्रिवेणीघाटमा रगत बगेको देखेको सुनाउँछन् । त्यसै वर्ष राजा महेन्द्रको मृत्यु भएको थियो ।
घाटको नजिकै कलाकौशलयुक्त इन्द्रेश्वर मन्दिर छ । त्यसैको उत्तरपूर्वमा अहिल्या (शिला) रहेको छ । यसका बारेमा स्कन्द पुराणमा वर्णन गरिएको पाइन्छ । परापूर्वकालमा ब्रम्हाजीले अहिल्या नाम गरेकी सुन्दरीको सृष्टि गरेर गौतम नामका ऋषिलाई राख्न दिएका थिए । ऋषि आफ्ना दश इन्द्रियलाई बशमा राख्न सक्थे । अरुले अहिल्यालाई गौतम ऋषिकी पत्नी ठाने पनि ऋषिले भने नासोको रुपमा मात्रै लिएका थिए । हरेक दिन सबेरै बिहान ऋषि नदीमा स्नान गर्न जाने गर्थे । त्यही मौका छोपेर एकदिन स्वर्गका राजा देवराज इन्द्रले ऋषिको रुप धारणा गरी सुन्दरी अहिल्याको सतित्वहरण गरे । त्यस दिन स्नान गर्न जाँदा ऋषिले कमण्डलु लिएर जान बिर्सेका रहेछन् । कुटीमा कमण्डलु लिन फर्कदाँ उनले यो कुरा थाहा पाएपछि दुवैलाई श्राप दिए । इन्द्रलाई दिएको श्रापले शरीरभरी हजारौं योनीले ढाकिएर कुरुप बने भने अहिल्या शिला बनिन् ।
अहिल्याको श्राप मोचन त्रेता युगमा मर्यादा पुरुष रामचन्द्रको पाउ स्पर्सले हुन्छ भनिएको कथन छ । शरीरभरी योनीले ढाकिएका इन्द्र भने गुरु बृहस्पतीको उपदेश अनुसार शिवजीको तपस्यामा लागे । उनकी पत्नी शची पनि पार्वतीको तपमा लागिन् । उनीहरुले पनौतीको त्रिवेणीघाटमा बाह्र वर्षसम्म तपस्या गरी स्नान गरेपछि पापबाट मुक्त भएको र त्यसैबेलादेखि बाह्र वर्षे मकर मेला सुरु भएको जनविश्वास छ । घाट नजिकैको इन्द्रेश्वर मन्दिर उनै इन्द्रले स्थापना गरेको मानिन्छ । अहिले पनि जानी नजानी गरिएका पाप पखाल्न मकर मेलामा नुहाउने र इन्द्रेश्वरको दर्शन गर्नाले कामुकताको दोष हट्ने मान्यता रहेको छ । त्यसैगरी, आफ्ना आकांक्षा पूरा हुने विश्वासले गोरखनाथलाई त्रिवेणी घाटको जल लगेर चढाउने गरिन्छ ।
पनौती र गोदावरीमा ६/६ वर्षको अन्तरालमा मेला लाग्ने गर्छ । किंवदन्तीअनुसार पनौती र पाटनमा पानी नपरेर खडेरी पर्दा फूलचोकी माईसँग पानी माग्ने चलन थियो । यी दुई क्षेत्रबीच पानीका कुरामा होडबाजी नै चल्थ्यो । त्यसबेला पनौतीमा दिर्गरथ र काठमाडौंमा सत्यकर राजा थिए । एक दिन सपनामा फूलचोकी माईले जसले सुन र चाँदीको फूल चढाउँछ, त्यस क्षेत्रमा पानी पठाउने भनिन् । पाटनका तान्त्रिकले खुशी हुँदै कालिगढलाई सुन र चाँदीका फूल बनाउन अह्राईहाले । पनौतीमा भने खेतीपाती बढी भएकाले सबैजसो किसान थिए, गरगहना बनाउने कालिगढ नै थिएनन् । उनीहरु निराश भई सोचमग्न भए । त्यसैबेला उनीहरुलाई गणेश भगवानले आफ्ना आमाबाबु महादेव पार्वतीलाई परिक्रमा गरी आफ्नो लक्ष्यमा विजय गरेको याद आयो र सुन चाँदी जस्ता देखिने खेतबारीमा फूलेका तोरी र मूलाका फूलहरु हतारहतार लगेर मातालाई चढाए । फूलचोकी माता खुशी हुँदै खेती गर्नेलाई पानी चाहिन्छ भन्दै रोशी खोलामा पानी पठाइदिइन् ।
यता, पाटनका कालिगढले छ वर्षपछि सुन र चाँदीका फूलहरु तयार पारेर मातालाई चढाउन पुगे । त्यतिबेला पानी पनौती लगिसकेको थाहा पाएपछि उनीहरुले पनि पानी लैजान पाउनुपर्ने बरदान मागे । माताले आधा पानी पाटनका लागि गोदावरी खोलामा पठाउँदै पनौती र गोदावरीमा ६/६ वर्षको अन्तरालमा मेला भर्न सुझाइन् । त्यसैअनुसार पनौतीमा माघ महिनाभर र गोदावरीमा साउन महिनाभर १२ वर्षे मेला लाग्ने गरेको मानिन्छ । अहिले पनि पनौतीका फाँटमा फूलचोकीबाट झरेकी रोशी नदीको पानी र ललितपुरका खेतमा गोदावरीको पानी लाग्दै आएको छ ।
कोभिडको तेस्रो लहर ओमिक्रोमको त्रास बढ्दै गएका बेला छ, अहिले । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले २०७८ पुस २७ गते विज्ञप्ती निकालेर मकर मेलाको कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेपनि स्नानका लागि भने रोकेको छैन । मकर मेलाले शरीर र मनका रोगहरु निको हुने, रोग व्याधीले नछुने, चिताएको पुग्ने र जान अन्जानबाट गरिएका पापबाट मुक्त हुने विश्वास लिएर हामी पनि पनौतीको त्रिवेणीधाममा स्नान गर्न पुग्ने हो कि !
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
