• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रेम दिवस : गुलाफ उपहार


  • तुला तिमिल्सिना
  • सोमवार, फाल्गुन २, २०७८
  • 24.3K
    SHARES

फूल दिएकै बुझ्छ्यौं कि, ओठले बोलुँ आज म,
तिमीलाई राखेँ लौ, यो मुटुको माझमा ।
पिरती छर्नेको दिन हो यो, नौलो रंग भर्नेको दिन हो यो,
यसरी आउँछ कि आउँछ यो दिन, दुई दिलको पार्छ मिलन ।।

हिउँदको याम । केही दिन पहिलामात्रै पानी र हिउँ परेको बखत । पहाडका चुचुराको हिउँ अझै पग्लिसकेको छैन । आकाश सफा छ । न्यानो घाम लाग्नाले सिरेटो अलि कमै छ । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वातावरण रमाइलो र घमाइलो छ । युवायुवतीमा कौतुहल, उत्साह र उमंगले छाएको देखिन्छ । मनमा प्रेमको सञ्चार बढ्दै गइरहेको भान हुन्छ । यसै बेला आइपुगेको छ– भ्यालेन्टाइन डे ।

फेब्रुअरी १४ का दिन विश्वभर प्रेम दिवस मनाइन्छ । यसलाई प्रणय दिवस पनि भनिन्छ । यो पश्चिमी देशबाट आयातित संस्कृति भए पनि विश्वका सबै देशमा विशेषगरी युवायुवतीले श्रद्धापूर्वक मनाउने गर्छन् । उनीहरु प्रेमको कुनै भूगोल र सीमा नहुने विश्वास राख्छन् । नेपालमा पनि यो संस्कृतिको अनुसरण बढ्दो छ । प्रेममा मिठास बढाउन र दिगो बनाउनका लागि गाढा गुलाफको फूल उपहार दिने चलन पुरानै हो ।
भ्यालेन्टाइन डेमा आत्मीयता गाँस्न र स्नेह बढाउन गुलाफको फूलका साथै चकलेट र टेडी खेलौना उपहार दिइन्छ । यस अवसरमा सेन्ट भ्यालेन्टाइनलाई स्मरण गर्दै प्रेम दिवस मनाउने गरिन्छ । यसको प्रसंगले सबैको मन रोमाञ्चित पार्दछ ।

तेस्रो शताब्दीमा इटालीको राजधानी रोममा क्लोडियस द्वितीयको शासन थियो । उनी क्रूर शासक थिए । क्लोडियस लडाइँलाई प्राथमिकता दिन्थे । बिहे गरेपछि पुरुपको शक्ति र बुद्धि नष्ट हुन्छ भन्ने उनको धारणा थियो । त्यसैले उनले आफ्ना राज्यका विशेषगरी सैनिक र युवायुवतीले विवाह गर्न नपाउने उद्घोष गरेका थिए । सेन्ट भ्यालेन्टाइन पादरी थिए तर यो कुरा उनलाई मन परेन । उनी प्रेम गर्न र विवाह गर्न बन्देज लगाउनु धर्म विरोधी कार्य मान्थे । त्यसैले उनी यो उद्घोषको विरोधमा उत्रिए । सबैलाई बिहे गर्न उक्साए, प्रेम गर्न प्रेरित गरे ।

भनिन्छ– उनले कतिपय सैनिक र धेरै युवायुवतीको सामूहिक विवाहसमेत गराए । भ्यालेन्टाइनको यो कदमले सम्राट क्लोडियस निकै क्रूर भए र उनलाई बन्दी बनाउन लगाए । बन्दीकै अवस्थामा भ्यालेन्टाइन एक जेजरकी छोरीसँग प्रेममा परेका थिए । उनलाई फाँसीको सजाए सुनाइयो । उनी ९४ वर्षका भइसकेका थिए । उनी एकातिर प्रेममा परेका थिए भने अर्कोतिर ज्यान जाने बेला आइसकेको थियो । त्यसैबखत उनले आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखे । त्यसपत्रको अन्तमा ‘फ्रम योर भ्यालेन्टाइन’ भनी टुंगाएका थिए । उनले आफ्नी प्रेमिकालाई सो पत्रसहित गुलाफको फूल उपहार पठाए ।

उनले आफ्नो मृत्युपछि आफ्नी दृष्टिविहीन प्रेमिका जुलियालाई आफ्नो आँ‘खा दिन पनि भनेका थिए । आँखा दान दिने चलनै नभएको बेलामा उनले गरेको समर्पणले आफ्नी प्रेमिकालाई असिम प्रेम गर्थे भन्ने देखाउँछ । उनी प्रेमका पुजारी र विवाह रोक्नु हुन्न भन्ने दृढ संकल्पका व्यक्ति थिए । तर, क्रूर शासकले सन् २६९ को फेब्रुअरी १४ का दिन भ्यालेन्टाइनलाई फाँसी दियो । त्यसैबेलादेखि प्रेमका लागि प्राणको उत्सर्ग गरेको सम्झनामा यो पर्व मनाउन थालियो ।

सबले भन्छन् छ फूल हाँसेको
कसलाई थाहा छ फूल रुँ‘दै बाँचेको,
फूल रोको, कसले देख्छ र ?

यस दिन युवायुवतीबीच आफैंले बनाएको मुटु (हार्ट) आकारको कार्ड दिने र लिने पनि गरिन्छ । मुटुलाई प्रेमको प्रतीक मानिन्छ । आजभोलि भने बजारबाट किनेर दिन थालिएको छ । यस बेलामा दिइने गाढा रंगको गुलाफको फूलले प्रेम प्रगाढ र दिगो हुन्छ भन्ने जनविश्वास छ ।
प्रेम दिवस फेबु्रअरी ७ देखि १४ सम्म सप्ताहको रुपमा मनाइने चलन पनि छ । पहिलो दिन फेब्रुअरी ७ मा ‘रोज डे’ भन्दै आफ्नो प्रेम व्यक्त गर्न गुलाफको फूल उपहार दिने गरिन्छ ।

दोस्रो दिन आफूले मन पराएको व्यक्तिलाई खुला प्रेम प्रस्ताव राखिन्छ भने तेस्रो दिन ‘चकलेट डे’ मा प्रेमी–प्रेमिकाको सम्बन्धमा मिठास ल्याउन भन्दै चकलेट उपहार दिने गरिन्छ । चौथो दिन आफ्नी प्रेमिकालाई मन पर्ने खेलौना दिएर मन प्रफुल्ल बनाइन्छ । यसलाई ‘टेडी डे’ भनिन्छ । पाँचौं दिनमा प्रेममा धोका नदिने र प्रेम पक्कापक्की भएको संकेतका रुपमा ‘प्रमिस डे’ मनाइन्छ ।

त्यसैगरी छैटौं दिन प्रेमीप्रेमिकाबीच चुम्बन गरेर सच्चा प्रेम प्रकट गरिन्छ । सातौं दिन अंकमाल गर्ने चलन छ । यसले प्रेमलाई बलियो र कसिलो बनाउने मान्यता छ । यसलाई ‘हग डे’ भनिन्छ । अन्तिम दिन फेब्रअरी १४ मा पे्रमस्वरुप उपहार दिएर प्रणय दिवस उमंग र खुसीका साथ मनाइन्छ ।

हिन्दु संस्कृतिका विद्वानहरु भने श्रीकृष्णको प्रादुर्भाव भएको दिन कृष्णाष्टमीलाई प्रेम दिवसको रुपमा मान्नुपर्ने तर्क राख्छन् । यहाँ राधा र श्रीकृष्ण बीचमा रहेको प्रेमभावको सन्दर्भलाई जोड्ने गरिन्छ । यो प्रगाढ प्रेमलाई अतुलनीय र स्मरणीय मानिँदै आएको छ । त्यसैले यस दिनको उपहारमा मयूरको प्वॉख लिनु दिनु शुभ हो ।

प्रेम दुई मुटुको मिलन हो । आजभोलि प्रेममा विकृति पनि देखा परेका छन् । समाजमा स्वार्थ लुकेको प्रेम देखिनु, जोकोहीलाई पनि प्रेम प्रस्ताव राख्नु, प्रस्ताव नस्वीकारेमा ज्यानै लिने वा ज्यानै फाल्ने जस्ता कार्य गर्नुले प्रेमको महत्व घटाउँछ । आँखाको हेराइबाट मात्र बसेको प्रेम कतिन्जेल टिक्ला भन्न सकिन्न । प्रेम त मन र भावनाबाट उत्पन्न भएको हुनुपर्छ । चोखो प्रेम आत्मीय हुन्छ । यसले जीवन जीउन सहज र सजिलो बनाउँछ । यो युगौंयुगसम्म अजर अमर हुन्छ ।

कुनै पनि वस्तु अरुलाई दियो, सकिँदै जान्छ । प्रेम भने जति दियो त्यति नै बढ्छ । प्रेमल जीवन आनन्दित हुन्छ । आफूले मन पराएको र आफूप्रति सकारात्मक व्यक्तिलाई प्रेम प्रस्ताव राख्दै प्रणय दिवस मनाऔं ।

तिमिल्सिना, समसामयिक र सन्दर्भ विशेषमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया