काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका-४ मा पर्ने जंगलमा एक पुरुषको टाउको, खुट्टा र शरीर टुक्रा टुक्रा पारेर अलग-अलग स्थानमा झोलामा पोको पारी फालिएको अवस्थामा भेटिएको छ ।
शरीर भेटिनु अघि दाउरा खोज्न गएका स्थानीयले पुरुषको टाउको र खुट्टा जेब्रा झोलामा भेट्टाएका थिए । उनीहरुले खबर गरेपछि प्रहरीले शरीरको बाँकी भागको खोजी गरेको थियो ।
बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताउनुभयो । झोलामा मानिसको शरीरको केही भाग जस्तो देखिएपछि जाँचका लागि फरेन्सिक टोली खटाएको उहाँले बताउनुभयो ।
धरान उपमहानगरपालिका-४ मा पर्ने धरान-भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको उनले बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
