• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

काठमाडौँ उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर


  • खुला नेपाल
  • बिहिबार, फाल्गुन ५, २०७८
  • 23.7K
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा लाग्ने समय र कल स्थापित हुन लाग्ने दर परीक्षण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोबाइल सेवाको गणुस्तर परीक्षण अध्ययनमा कल गर्दा लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडि एनसेल देखिएको छ ।

उक्त (ड्राइभ टेस्ट) प्रतिवेदनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ६.४४ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ । अन्य दुई कम्पनीको तुलनामा एनसेल अगाडि भए तापनि प्राधिकरणले तोकेको न्यूनतम मापदण्डमा कुनै पनि कम्पनी परेका छैनन् ।

यस्तै कल स्थापना हुने कल सफलताको दर एनसेलको ९६दशमलव १५ प्रतिशत छ । प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सोभन्दा धेरै हुनुपर्छ । नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय ९.५९ सेकेन्ड देखिएको छ भने कल स्थापना हुने सफलताको दर ७७ दशमलव४२ प्रतिशत रहेको छ । रासस

प्रतिक्रिया