काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो
। आइतबार काठमाडौंमा नेपाल बारएशोसिएशनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयमा नै न्याय प्रदान गर्न र स्वतन्त्र न्यायापालिकाको मर्म र मान्यतालाई कायम राख्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो
।
राष्ट्रपति भण्डारीले कानून व्यवसायीलाई आफूलाई अध्यावधिक गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समता र न्यायपूर्ण समाज निर्माणमा समर्पित हुन आग्रह गर्नुभएको हो। राष्ट्रपति भण्डारीले स्वतन्त्र न्यायपालिका, कानूनको शासन, संधिवानको सर्वोच्चता, मानवअधिकार र कानुन व्यवसायीको हकहित र न्यायका उपभोक्ताको अपेक्षा पूरा गर्न बार एशोसिएशनले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले व्यवस्थापिका र कार्यपालिकाको चरित्र राजनीतिक हुने भएकाले यसका बीचमा यदाकदा उठ्ने अधिकार क्षेत्रसम्बन्धीका विषयमा कानून व्यवसायीले निष्पक्ष भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गुणस्तरिय कानूनका लागि आफुहरु सचेत रहेको बताउनुभयो । उहाँले न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउनका लागि आवश्यक कदमका बारेमा सम्मेलनमा छलफल हुने उल्लेख गर्नु भएको छ।सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष ज्येष्ठ कानूनविद् ९५ वर्षीय कृष्णप्रसाद भण्डारीलाई ‘कानून वङ्मय शताव्दी पुरुष’बाट दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गर्नु भएको छ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
