काठमाडौँ । रुसले युक्रेनका दुई शहर मारियोपोल र भोल्नोभाखामा अस्थायी संघर्षविरामको घोषणा गरेको छ ।
साथै, मस्कोको समय अनुसार शनिबार बिहान १० बजेदेखि मानवीय सहयोग मार्ग पनि खुल्ने भएको छ । त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रुसको सो घोषणालाई युक्रेनी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । मारियोपोल शहरलाई रुसी सेनाले पछिल्ला केही दिनदेखि घेराउ गरिरहेको थियो ।
साथै, भोल्नोभाखामा समेत भारी संघर्ष जारी रहेको बीबीसीले जनाएको छ । यसअघि मारिओपोलका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘क्रुर हमलाहरू’ भइरहेको भन्दै मानवीय मार्ग खोल्न माग गरेका थिए ।
झन्डै चार लाख ५० हजार जनसङ्ख्या भएको मारिओपोलमा युक्रेनको मुख्य व्यापार बन्दरगाह छ । रुस–क्राइमिया सडक मार्गमा पर्ने त्यो मुख्य युक्रेनी सहर हो । भोल्नोभाखा भने कमै परिचित सानो सहर हो । यो मारिओपोलको उत्तरतर्फ पर्छ जहाँ हमला सुरु भएदेखि ठूला मुडभेड भइरहेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
