• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

निरङ्‍कुश नेपाली सिनेमा

व्यक्तिका हरेक छनौट र निर्णय आफैँमा राजनीतिक हुने आधारभूत चेतनाको अभावमा हाम्रा चलचित्रकर्मीहरू आफूलाई गैरराजनीतिक घोषणा गर्दै चलचित्रलाई अराजनीतिक बनाउने भ्रममा कटिबद्ध छन् र भन्छन्, हामी केबल मनोरन्जनका लागि सिनेमा बनाउँछौं।


  • मनोज पण्डित
  • सोमवार, चैत्र ७, २०७८
  • 10.1K
    SHARES

‘रसिया र युक्रेनबीच भयङ्कर युद्ध भैरहेछ नि !’
‘ए हो र १ भए पनि मलाई केही फरक पर्दैन।’

यो कुनै चलचित्रबाट साभार गरिएको संवादको अंश थिएन। यो केही नेपाली चलचित्रकर्मीबीच हालै भएको संवादको सानो भाग मात्र थियो। देख्दा उत्तर सामान्य झैँ लाग्छ, वास्तविक पनि लाग्छ, तर त्यो सामान्य उत्तरभित्र नेपाली चलचित्रको दर्शन, संरचना र उद्देश्य प्रतिविम्बित भएको छ।

‘के फरक पर्छ र ?’ भन्ने आधारभूत अवधारणा चलचित्र क्षेत्रमा व्याप्त छ। ‘चलचित्र बनाएर के नै फरक पर्छ र ?’ तथा ‘चलचित्र क्षेत्रभित्र जे भैरहेछ त्यसले के नै फरक पार्छ र? ’ फिल्म निर्माताहरूकै धारणा यस्तो भएपछि राज्यले पनि भन्ने नै भयो, ‘सिनेमाले के फरक पार्छ र ?’

एउटा व्यक्तिको र सम्पूर्ण सामाजिक जीवनमा सिनेमाको कुनै असर हुँदैन भन्ने निष्कर्षकै कारण बनाउनेले पनि केवल आफ्नो आर्थिक र परिचयात्मक लाभको सीमित परिधिभित्र मात्र सिनेमा बनाउने प्रक्रियालाई निरन्तरता दिएका छन् । राज्यले त यसका लागि गर्नुपर्ने आधारभूत लगानी पनि गरको छैन । राज्यले त अझ एक कदम अगाडि बढेर ‘सिनेमाले समाजलाई केही फरक पार्नु हुन्न’ भन्ने विशेष अवधारणा नै निर्धारण गरेको छ। त्यसैले त कहिलेकाहीँ कुनै चलचित्रले समाजलाई प्रभाव पार्न सक्ने देखिएको अवस्थामा राज्यले शक्तिको प्रयोग गर्दै सेन्सर गर्दछ ।

वास्तवमा ‘सिनेमाले फरक पार्नु हुन्न अथवा फरक पार्न सक्ने सिनेमा बनाउनु हुन्न’ भन्ने मनोविज्ञानको आधारमा चलचित्र मनोरञ्जनको साधन हो, यो मनोरञ्जनमै सीमित हुनुपर्छ, यसले राजनीति गर्नुहुन्न भने कथ्यलाई नै हाम्रो समाजमा स्थापित गर्न राज्य तथा शासकहरू सफल भएका छन्। मनोरञ्जन आफैँमा राजनीति हो भन्ने चेतनाको बहस यहाँ सुरु नभइसकेको हुँदा मनोरञ्जनलाई राजनीतिबाट अलग राखेर हेर्ने, सोच्ने र विवेचना गर्ने प्रवृत्ति हावी भइरहेको छ।

चलचित्रकर्मीहरू राजनीति भन्ने शब्दबाट आफूलाई सधैँ टाढा राख्न खोज्ने प्रवृत्ति यस कारण नै हावी भइरहेको हो। राजनीतिलाई केवल पार्टी र सरकार बनाउने प्रक्रियाका रूपमा मात्र हेर्ने संकुचित दृष्टिका कारण समाजमा आधारभूत राजनीतिक चेतनाको समेत चरम अभाव देखिएको छ। त्यसैको प्रतिविम्ब हाम्रा चलचित्रहरूमा समेत टड्कारो देखिन्छ। व्यक्तिका हरेक छनौट र निर्णय आफैँमा राजनीतिक हुने आधारभूत चेतनाको अभावमा हाम्रा चलचित्रकर्मी आफूलाई गैरराजनीतिक घोषणा गर्दै अराजनैतिक बनाउने भ्रममा कटिबद्ध छन् र भन्छन् हामी केबल मनोरन्जनका लागि सिनेमा बनाउँछौं ।

कुनै पनि व्यक्तिले कुन–कुन विषयमा, कस्ता साधन र स्रोतमार्फत कसको प्रस्तुतिमा मनोरञ्जन लिने भन्ने कुराको छनौट गर्ने, त्यसको निर्र्णय लिने सम्पूर्ण अधिकार उसैमा निहित हुन्छ। मनोरञ्जित हुनु भनेको कुनै पनि कुरालाई स्वीकार्नु हो, आत्मसात गर्नु हो। वास्तवमा त्यो प्रक्रिया आफैँमा राजनीतिक हो र यही छनौटका आधारमा उसको व्यवहार र चिन्तनको पनि विकास हुँदै जान्छ।

त्यसको प्रभाव जीवनका अरू धेरै आयामहरूमा स्पष्ट रूपमा पर्न जान्छ । छनौटको त्यो शृंखलालले आफूलाई त्यहीअनुरूप निर्माण गर्ने प्रक्रिया अघि बढ्छ जुन पूर्णतया शक्ति निर्माण र चेतना निर्माणको रूपमा स्थापित हुन जान्छ । तर यो तथ्यलाई पूर्णरूपले बेवास्ता गर्दै नेपाली सिनेमाले मनोरञ्जनको माध्यमबाट फरक नपर्ने तत्वहरू मात्र प्रस्तुत गर्नुपर्छ भन्दै आफूलाई फरक नपर्ने तत्वहरूको सीमित परिधिमा खुम्च्याउँदै घिस्रिने प्रयत्न गरिरहेको छ, जुन आफैँमा पनि राजनीति हो भन्ने चेतना यो पक्षसँग नितान्त छैन ।

यसकारण पनि अहिलेसम्म नेपाली सिनेमाभित्र विज्ञानको प्रवेश हुन सकेको छैन भनेर भन्न सकिन्छ । विज्ञानको आधार नै सहअस्तित्व, अन्तरसम्बन्ध र अन्तरप्रभाव हो। त्यसकारण यहाँ हरेक कुरामाथि हरेक कुराको प्रभाव परिरहेको हुन्छ ।

सन्तुलनको अवस्थामा त्यो प्रभाव एउटा स्वरूपमा हुन्छ भने असुन्तलनको अवस्थामा अन्य स्वरूपहरूमा । सिनेमाले आफ्नो कथा–पटकथामार्फत यही सन्तुलनदेखि असन्तुलनसम्मको प्रभावको यात्रा गराउँछ, दुर्भाग्य नेपाली सिनेमा यही प्रभावको प्राकृतिक चरित्रबाट आफूलाई अलग्याउन खोजिरहेको छ।

यो ‘फरक पर्दैन’ भन्ने अवधारणाले नेपाली सिनेमा क्षेत्रलाई कसरी विभिन्न तहमा फरक पारिरहेकको छ भन्ने विश्लेषण गर्ने हो भने सबभन्दा पहिला ‘दर्शक एक मस्तिष्क हो’ भन्ने आधारभूत सत्यलाई नै यसले बहिष्कार गर्छ । दर्शककै बलमा टिकेको नेपाली सिनेमा उद्योगले आफूले जे प्रस्तुत गरे पनि हुन्छ, चल्छ भन्ने सोच राख्छ ।

दर्शकले पनि त्यसलाई त्यही रूपमा ग्रहण गरिदिन्छन्, त्यसले गर्दा दर्शकलाई पनि केही फरक नपार्ने रहेछ भन्ने धारणा स्वयं राख्छन् । यस अवस्थामा दर्शक भनेको केवल एउटा वस्तुमात्र हुन्छ, अझ भनौँ दासजस्ता देखिन्छन् र नेपाली सिनेमा उनीहरूको मालिक जस्तो । उनीहरू एक प्रकारका शासक जस्तै हुन्छन् जसले दर्शकको मस्तिष्कमा राज गरिरहेका हुन्छन्।

अर्थात् यस प्रक्रियामा विश्लेषण, विवेचना, असहमति वा प्रतिस्पर्धा भन्ने कुनै तत्वहरू नै हुँदैनन् । यो निरङ्‍कुशताको मनोविज्ञान हो र फरक पर्दैन भन्ने मूल अवधारणामा टिकेर नेपाली सिनेमाले निरङ्‍कुशताको चरित्र आत्मसात गरिरहेको कुराको दृष्टान्त हो । निरङ्‍कुशतामा मात्र प्रतिस्पर्धा हुँदैन, विश्लेषण हुँदैन । त्यहाँ हुकुम मानिन्छ र सिनेमाको जे हुकुम गर्छ, दर्शकले त्यो स्वीकार्छ । यसर्थ नेपाली सिनेमा निरङ्‍कुश छ भन्नुपर्ने अवस्था अहिले छ।

यस अवस्थामा दर्शक भनेको केवल एउटा वस्तुमात्र हुन्छ, अझ भनौँ दासजस्ता देखिन्छन् र नेपाली सिनेमा उनीहरूको मालिक जस्तो। उनीहरू एक प्रकारका शासक जस्तै हुन्छन् जसले दर्शकको मस्तिष्कमा राज गरिरहेका हुन्छन्। अर्थात् यस प्रक्रियामा विश्लेषण, विवेचना, असहमति वा प्रतिस्पर्धा भन्ने कुनै तत्वहरू नै हुँदैनन्। यो निरङ्‍कुशताको मनोविज्ञान हो र फरक पर्दैन भन्ने मूल अवधारणामा टिकेर नेपाली सिनेमाले निरङ्‍कुशताको चरित्र आत्मसात गरिरहेको कुराको दृष्टान्त हो। निरङ्‍कुशतामा मात्र प्रतिस्पर्धा हुँदैन, विश्लेषण हुँदैन। त्यहाँ हुकुम मानिन्छ र सिनेमाको जे हुकुम गर्छ, दर्शकले त्यो स्वीकार्छ। यसर्थ नेपाली सिनेमा निरङ्‍कुश छ भन्नुपर्ने अवस्था अहिले छ।

सायद नेपाली सिनेमाका लागि यो सबैभन्दा डरलाग्दो आक्षेप होला तर नेपाली सिनेमासँग यसको उत्तर होइन, प्रतिप्रश्न छ। ‘निरङ्‍कुश भएर के फरक पर्छ र ?’, निरङ्‍कुश सिनेमा मन पराउने र त्यसैमा रुमल्लिने दर्शकले जनताका रूपमा निरङ्‍कुश शासकलाई नै स्थापित गर्छन्। निरङ्‍कुशता भनेको यथास्थितिवाद, सम्झौतापरस्त तथा पश्चगमनको अवस्था हो। निरङ्‍कुश सिनेमाले दर्शकको चेतनालाई उपरोक्त प्रक्रियाबाट संकुचित बनाउन भूमिका खेल्छ । त्यस्तो संकुचित चेतनाले परिवर्तन, यथार्थता, समानता र प्रगतिशिलतालाई बाधक र अराजकताको रूपमा लिन्छ ।

त्यसैले उक्त चेतनाले प्रश्न, विश्लेषण, प्रतिस्पर्धा, गर्दैन। समाधान खोज्दैन र कुण्ठित, दमित, त्रासदीपूर्ण मनोविज्ञानका साथ वेदना पोख्ने गन्थनमा समय बिताउने प्रवृत्ति र चरित्रको विकास गर्छ। यस्तो अवस्थामा उक्त मानव समाज अशान्त, अस्पष्ट, अल्मल्ल, र रुग्ण हुन्छ, कता–कता रुमलिन्छ। त्यस कुराको फाइदा त्यस्ता शक्तिहरूले लिन्छन्, जसले त्यही अन्योलता भित्रबाट सत्ता कब्जा गर्ने उद्देश्य बाकेको हुन्छन् र त्यही द्वन्द्वबाट निरङ्‍कुश शासकहरूले टाउको उठाउने अवसर पाउँदछन् ।

वास्तवमा अहिले सिनेमा मात्र हैन गीत–संगीत र साहित्यमा पनि वेदना र रोदनको गन्थन मात्र पाइने भएको छ। विचारापनको अभिव्यक्तिमा मात्र सीमित हुँदा मानिस विचारापन मनोविज्ञानबाट ग्रसित भइरहेको छ। म दुःखी छु र हामी कमजोर छौ भन्ने दृष्टिभावलाई प्रस्तुत गर्दै कसैले सहानुभूति पोखिदेओस् भन्ने चाहनाबाट ग्रसित हाम्रो समाजको यही विचारापनकै परिणाम हुनुपर्दछ– हाम्रो देश पनि त्यही विचारपनको सिद्धान्तबाट निर्देशित भइरहेको छ। तसर्थ त देश आफ्नो गरिबी र अभावलाई बेच्दै हात फैलाउनमा व्यस्त छ। यसले राष्ट्रिय रोगको रूपमा हाम्रो नैतिक धरातललाई नै कमजोर बनाइरहेको छ। यो अत्यन्त गम्भीर मनोरोग हो, हामी सबै मनोरोगी भइसकेका छौँ।

सिनेमालगायतका कला, साहित्य, संगीतले यो समाज र राष्ट्रमा कस्तो प्रभाव पारिरहेका छ र अब हामीले कस्तो प्रभावको निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्छ, यसको उत्तर ज्यादै कठिन छ। जुन समाजमा, देशमा सिनेमा लगायतका कला साहित्यले धेरै फरक पार्छ भन्ने मनोविज्ञान स्थापित छ, त्यहाँ आधुनिक विकासको उपलब्धि सगरमाथा जस्तो उँचो भइसकेको यथार्थ हामीले देख्न सक्छौ। अमेरिका, युरोप, जापान, कोरिया आदि देशमा सिनेमा अत्यन्त शक्तिशाली साधन बनिसक्यो। अमेरिकाले त सिनेमालाई ‘सफ्ट पावर’को रूपमा घोषणा नै गरिसक्यो। हालै यही मूल्यलाई आत्मसात गरेको सिनेमा द कास्मिर फाइलले भारतमा अप्रत्यासित रूपमा हङ्गामा मच्चाईरहेको छ।

जब श्रष्टा, दर्शक, समाज र सिंगो राष्ट्रले ‘फरक पर्छ’ भन्ने अवधारणा आत्मसात गर्छ तब सिनेमाले पर्दाबाट बाहिर निस्केर समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। तब सिनेमाले समाज र सत्ताका अवधारणाहरूसँगै हरेकको समृद्धिका लागि मानवताको प्रतिनिधित्व गर्दै युद्ध गर्छ। त्यसको तयारीको लागि सिनेमाले मानव–समाजका विषयमा गहिरो अध्ययन गर्छ। अध्ययन मानव र समाज बिचको अन्तरसम्वन्धको हुन्छ, द्वविधा र दृष्टिकोणमाथि खोज हुन्छ अनि स्थानीय पृष्ठभूमि, अस्तित्व, चिन्तन, व्यवहार र प्रणाली माथि प्रतिनिधिमूलक हस्तक्षेप गर्छ। यस परिस्थितिमा मानव जीवनलाई समृद्ध बनाउन कहाँ, कसरी अनि कस्तो फरक पार्नुपर्छ भनेर मागदर्शन प्रदान गर्दछ।

जो स्रस्टालाई आफ्नो सिर्जनाले फरक पार्छ भने ज्ञात हुन्छ तब समाजमा सकारात्मक प्रभावको उद्देश्यले उ प्रेरित हुन्छ। समाजलाई सकारात्मकता तर्फ डोराउने उसको सोचले समाजलाई समस्याग्रसित अवस्थामा नै राख्न चाहने यथास्थितिको बाढीसँग टकाउने अवस्था बन्छ। निरङ्‍कुशतालाई प्रश्रय दिने दर्शकीय चेतना हावी भएको अवस्थामा त्यस्ता सिर्जनाहरूलाई अंकुश लगाउने प्रयत्न हुन्छ र त्यस किसिमका प्रयत्न सफल भएको खण्डमा समाजमा फरक पार्न चाहने परिवर्तनकारी सोचहरू निस्तेज हुँदै जान्छन्, यसले निरङ्‍कुशतालाई बलियो बनाउँछ। निरङ्‍कुशताको जग अंकुशमा हुन्छ, हिंसामा हुन्छ जबकी समाजलाई शान्ति र स्वतन्त्रताको मार्गमा लैजानु आवश्यक छ। यसका लागी यथास्थितिबाट बाहिर निस्किएर समास्या समाधान गर्नुपर्ने हुन्छ। समाधान यसको मूल उद्देश्य हो तर निरङ्‍कुशताले समाधान खोज्दैन, उ समस्या माथि आफ्नो नियन्त्रण खोज्छ।

त्यसैले अब हाम्रो मानव समाजले निरङ्‍कुश सिनेमाको पक्षमा आफूलाई बलि चढाउने अज्ञानताबाट मुक्त हुनुपर्छ। यसका लागि उसले निरङ्‍कुश सिनेमाको आधरभूत चरित्रबाट आफूलाई अलग्याउने प्रयत्न गर्नुपर्छ। निरङ्‍कुश सिनेमामा फरक पात्रहरूसँग उद्देश्य हुँदैन, केवल व्यक्तिगत आनन्द र असामाजिक स्वार्थको उद्देश्य हुन्छ। त्यो उद्देश्य पूरा गर्न उसले भैपरी आउने अवरोधहरूको चुनौति मात्र सामना गर्छ। त्यो चुनौति समाजमा स्थापित आधारभूत अवधारणा, विभेद र असमानताको प्रणाली, शक्ति संरचना आदिका कारण नभई नितान्त व्यक्तिगत अहम् र चरित्रबाट मात्र सिर्जित समस्या हुन्छ।

उद्देश्य र समस्याको, संकुचनता तथा समाधानको सतही परिधि भित्र त्यस्ता सिनेमाले आफ्नो कथ्य र कथन माथि अङ्‍कुश लगाएको हुन्छ। त्यस्ता सिनेमामा पात्रको आवश्यकता, उद्देश्य, संघर्ष र उपलब्धिसँग समाजको कुनै सरोकार हुँदैन र त्यसले दर्शकलाई आफ्नो सामाजिक, राजनैतिक, सांस्कृतिक र मनोवैज्ञानिक यथार्थ बुझ्न कहीँ–कतै पनि उत्प्रेरकको भूमिका खेल्दैन। हो, यस्ता सिनेमाको सर्जक आफैँमा निरङ्‍कुश हुन्छन् जो दर्शकलाई आफ्नो कठपुतली ठान्दछन् र त्यसैमा सीमित राख्न चाहन्छन्। अनि उनीहरू समाजलाई केही फरक नपर्ने तत्वहरूलाई थुपारेर आफ्नो प्रस्तुति दर्शकमाथि लाद्न तल्लीन हुन्छन्, तर तिनीलाई थाहा नहुन सक्छ ती आफैँ निरङ्‍कुश राजनीतिक सोच र शक्तिको कठपुतली बनिरहेका हुन्छन्।

जब संघर्ष गर्ने बानी पर्नथाल्छ, त्यसपछि व्यक्ति र समाज संघर्षशील हुन्छ, संघर्षको उपजमा परिवर्तन र विश्वासको उपलब्धि हासिल हुन्छ जुन निरङ्‍कुशताको लागि हानीकारक हुन्छ। त्यसैले निरङ्‍कुशताले केही फरक पार्दैन भन्ने कथ्यलाई मानिसको चेतनामा स्थापित गरिराख्न चाहन्छ र त्यसका लागि सिनेमा, साहित्य, कला, संस्कृति, धर्म र शिक्षाको प्रयोग गर्ने प्रयत्न गरिरहन्छ। यो तथ्यलाई सर्जक र दर्शक दुवैले अब गम्भीरतापूर्वक लिनुपर्ने अवस्था आइसकेको छ।

फरक पार्नु र फरक पर्नुको अर्थ हो यथास्थितिमा असन्तुलन श्रृजना गर्नु। यसबाट मानव समाज सन्तुलनका लागि पुनः एकपटक संघर्ष गर्न वाध्य हुन्छन्, उत्प्रेरित हुन्छन्। जब संघर्ष गर्ने बानी पर्नथाल्छ, त्यसपछि व्यक्ति र समाज संघर्षशील हुन्छ, संघर्षको उपजमा परिवर्तन र विश्वासको उपलब्धि हासिल हुन्छ जुन निरङ्‍कुशताको लागि हानीकारक हुन्छ। त्यसैले निरङ्‍कुशताले केही फरक पार्दैन भन्ने कथ्यलाई मानिसको चेतनामा स्थापित गरिराख्न चाहन्छ र त्यसका लागि सिनेमा, साहित्य, कला, संस्कृति, धर्म र शिक्षाको प्रयोग गर्ने प्रयत्न गरिरहन्छ। यो तथ्यलाई सर्जक र दर्शक दुवैले अब गम्भीरतापूर्वक लिनुपर्ने अवस्था आइसकेको छ।

त्यसैले अब के कुरालाई स्वीकार्नु पर्छ भने हामीले हेर्ने हरेक सिनेमाले हामीलाई र समाजलाई नै फरक पार्छ। कस्ता सिनेमा बनिरहेका छन्, मानिसहरूले हेरिरहेका छन् भन्ने तथ्यले समाजमा धेरै नै फरक पार्छ। वास्तवमा यो एक–एक भोट जस्तै हो। सिनेमा कवेल केही क्षण मनोरञ्जन गरेर भुल्ने वस्तु हैन, यो त कथ्य हो, समाजमा स्थापित वा समाजको लागि अति आवश्यक कथ्य ।

समाज कथ्यहरूले निर्देशित हुन्छ र सिनेमाले कथ्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले हरेक सिनेमालाई त्यति नै महत्वका साथ लिउँ र त्यसैअनुसार निर्माण गरौँ। लोकतन्त्रको आधारमूत मूल्य–मान्यता भन्नु नै यहाँ हरेक कुराले फरक पार्छ र हरेकलाई फरक पार्नका लागि स्थान छ भन्ने हो। अब सिनेमाले पनि त्यो स्थान लिनुपर्छ। नेपाली सिनेमाले अब निरङ्‍कुशता हैन लोकतन्त्रको चरित्र हासिल गर्नुपर्छ र लोकतान्त्रिक नेपाली सिनेमा बन्ने र बनाउने कर्ममा अब हामी सबै क्रियाशिल हुनुपर्छ।

मनोज पण्डित ख्यातिप्राप्त लेखक तथा फिल्म निर्देशन हुनुहुन्छ।

स्रोतः आइएनएसस्वतन्त्र समाचार

प्रतिक्रिया