काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मात्रै वामपन्थी पार्टी भएको दाबी गर्नु भएको छ ।
आजको पार्टीको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भूसालले वामपन्थी एकताको प्रस्ताव राखेपछि त्यसको जवाफमा अध्यक्ष ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको भन्दै अन्यसँग एकताको कुरा नहुने जिकिर गर्नु भएको हो ।
उहाँले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता नहुने बताउनु भयो । बैठकको समापनमा बोल्दै अध्यक्ष ओलीले पारस्परिक लाभको आधारमा चुनावी तालमेल भए पनि अन्य पार्टीसँग एकता नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले चुकुल तोडेर, सिसा फोडेर कांग्रेसको पछि लाग्न गएका प्रचण्ड–माधव समूहसँग वाम एकताको नाममा कुनै पनि सहकार्य हुन नसक्ने प्रष्ट पार्नु भयो । ओलीको जवाफ उद्धृत गर्दै एक पोलिटव्युरो सदस्यले – चुकुल तोडेर, ढोका र झ्यालको सिसा फोडेर गद्दारी गर्दै कांग्रेसलाई सत्ता बुझाउन जानेहरूलाई गठबन्धन वा एकताका नाममा चुकुल नखोल्ने बताएको जानकारी दिए ।
त्यसअघि भूसालले चुनावी एकतालाई लिएर पार्टीमा फरक मत राख्दै वाम गठबन्धनको प्रस्ताव गर्नु भएको थियो ।
भूसालले बहुसंख्यक कार्यकर्ता र सदस्यहरूले कम्युनिस्ट एकता चाहेको हुनाले कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक रहेको प्रस्ताव गर्नुभयो । उहाँले बैठकमा विभिन्न चार कारण पेस गर्दै कम्युनिस्ट गठबन्धन आवश्यक रहेको बताउनु भएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
