• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

मुसाहरू


  • स्नेह सायमी
  • शनिबार, चैत्र २६, २०७८
  • 10.5K
    SHARES

  कविता

मुसाहरू
कुदिरहेछन् अँध्यारोमा
दुलो खनिरहेछन्
घर, भित्ता र भुईँहरूमा
काटिरहेछन्
नयाँ लुगा, नयाँ घर, नयाँ जीवन
नयाँ दस्तावेज, नयाँ आस्था
नयाँ नेपालका नयाँ सपना
मुसाहरू
कुदिरहेछन् अँध्यारोमा ।

हाम्रो भान्साका खाना खाएर
हाम्रै छाना, छिँडी र कोठाहरू
फोहोर गरिरहेछन्
दुलो बनाइरहेछन् नयाँ सम्भावना
काटिरहेछन् नयाँ उत्साह
मुलुकको गरिमा र प्रतिष्ठा
मुसाहरू
यसै गरिरहेका छन् र पसिरहेका छन् सरकारमा ।

प्रतिक्रिया