• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

कर्णालीका ७९ वटै स्थानीय तहमा खटिए निर्वाचन अधिकृत


  • ओम शाही
  • शुक्रबार, बैशाख २, २०७९
  • 10.5K
    SHARES

सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कर्णालीमा तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार निर्वाचन सुरक्षा, जनशक्ति तथा भौतिक सामग्री व्यवस्थापन, निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायत तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णालीका ७९ वटै स्थानीय तहका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको अभिमुखीकरण सम्पन्न भएको जानकारी दिए । निर्वाचन आयोगले बुधबार नेपालगञ्जमा कर्णाली र लुम्बिनी प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीहरुका लागि एक दिने अभिमुखीकरण गरेको थियो ।

अभिमुखीकरणपश्चात निर्वाचन अधिकृतहरुलाई नियुक्तिपत्र बुझाइएको छ । नियुक्तिपत्र बुझेपछि निर्वाचन अधिकृतहरु आ–आफ्नो स्थानीय तहमा खटिने भएका हुन् ।

प्रदेश निर्वाचन अधिकारी चालिसेले वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र त्यस अगावै मानवीय जनशक्तिका साथै भौतिक सामग्रीहरुको व्यवस्थापन कार्य भइसक्ने बताए ।

मुख्य निर्वाचन अधिकृत सदरमुकाम रहेको स्थानीय तहमा तथा अन्य अधिकृतहरु तोकिएको स्थानीय तहको केन्द्रमा रहेर निर्वाचन सञ्चालन तथा व्यवस्थापनका कार्यहरु गर्नेछन् ।

निर्वाचन अधिकृतहरुले उम्मेदवारको मनोनयन दर्ता, मनोनयनमाथि उजुरी लिने, उजुरीमाथि छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने लगायतका कामहरु गर्नेछन् ।

कर्णालीमा १० लाख एक हजार दुई सय ८२ मतदाता छन् । नौ सय सात मतदानस्थलमा गरी एक हजार तीन सय ८५ केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा २५ दल तथा कम डोल्पामा ११ दलले निर्वाचनमा भाग लिँदैछन् ।

यसैबीच, कर्णालीका नौ सय सातमध्ये दुई सय ९५ मतदानस्थल अति संवेदनशील सूचीमा रहेको निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । तीमध्ये सबैभन्दा बढी कालिकोटमा छन् ।

त्यहाँका ७३ मतदानस्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशीलका रुपमा वर्गीकरण गरिएको छ । सुर्खेतमा २०, दैलेखमा ४६, सल्यानमा ३८, रुकुम पश्चिममा १९, डोल्पामा २३, हुम्लामा ९, जुम्लामा ४०, मुुगुमा २६ र जाजरकोटमा एक मतदानस्थल अति संवेदनशीलमा छन् ।

सुरक्षा समितिले विगतका निर्वाचनमा भएका हिंसात्मक क्रियाकलाप, भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धालगायतलाई आधार बनाएर सुरक्षा रणनीति बनाएको प्रदेश निर्वाचन कार्यालयले जनायो । अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्थापनमा सम्बन्धित जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले आवश्यकता अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गर्नेछन् ।

निर्वाचन सुरक्षाका लागि सात हजार सात सय १३ म्यादी प्रहरी भर्ना गरिएको छ । म्यादीसँगै जनपद, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई परिचालन गरिनेछ ।

प्रतिक्रिया