ललितपुर । ललितपुरको ग्वार्कोमा शुक्रबारदेखि टि १० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा उपत्यकाका ११ टोलीको सहभागिता छ।
प्रतियोगिताको पहिलो दिन शुक्रवार ब्रदर्स ११ ले दोहोरो जित दर्ता गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ब्रदर्स ११ ले ट्वान्टी फर्स्ट रेस्ट्रोलाई ४२ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग रोजेको ब्रदर्स ११ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०२ रन जोडेको थियो। उसका दुर्गेश थापाले सर्वाधिक ४८ रनको योगदान गरेका थिए। जवाफमा १०३ रनको लक्ष्य लिएर मैदान उत्रिएको ट्वान्टी फर्स्ट रेस्ट्रोले अल आउट हुन अगाडी ६० रन मात्र जोड्न सक्यो। खेलको प्लेयर अफ दि म्याच ब्रदर्श ११ का दुर्गेश थापा घोषित भए।
यस्तै दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रदर्श ११ ले प्रेसिडेन्सियल बिजनेस स्कुललाई ७ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग गरेको प्रेसिडेन्सियल बिजनेस स्कुलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६३ रन जोडेको थियो। ६४ रनको जवाफी लक्ष्य लिएर ब्याटिंग गर्न उत्रिएको ब्रदर्श ११ का लागि खेलको प्लेयर अफ दि म्याच बिपिन आचार्यले अविजित २७ रन जोड्दा टोलीले ७ विकेटको जित दर्ता गर्यो।
तेस्रो खेलमा टिम सुबिसुले थेम्स इन्टरनेसनल कलेज माथि ४७ रनको सहज जित हात पार्यो। टस जितेर पहिले ब्याटिंग गरेको सुबिसुले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९३ रन जोडेको थियो। सुबिसुका लागि दिपेश दासले सर्वाधिक ४० रनको योगदान गरे। दोस्रो इनिंगमा थेम्स इन्टरनेसनल निर्धारित १० ओभरमा ५ विकेट गुमाउंदै ४६ रन रन मात्र जोड्न सक्दा खेलमा ४७ रनले पराजित भयो। खेलको प्लेयर अफ दि म्याच सुबिसुका दिपेश दास घोषित भए।

शुक्रवारको अन्तिम खेलमा मिक्स्माण्डुले रोएल क्रिकेट क्लबमाथि ८३ रनको एकतर्फी जित हात पार्यो। टस जितेर पहिले ब्याटिंग गरेको मिक्स्माण्डुले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोडेको थियो। उक्त टिमका बिबेक राना मगरले सर्वाधिक ३९ रन जोडे। जवाफमा मिक्स्माण्डुको धारिलो बलिङ्गको अगाडि रोएल क्रिकेट क्लब सम्हालिन सकेन। रोएललाई केवल २० रनमा समेट्ने क्रममा मिक्स्माण्डुका अविनाश बश्यालले ३ तथा प्रतिश जिसीले २ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच मिक्स्माण्डुका बिबेक राना मगर घोषित भए।
ग्वार्कोस्थित बलपार्क स्पोर्ट्स एण्ड इभेण्ट्सको इन्डोर हलमा सुरु भएको प्रतियोगिता यही असार १४ गतेसम्म हुने आयोजक संस्थाका प्रमुख तथा आयोजक टोलीका कप्तान सर्वोच्च बस्नेतले जानकारी दिए ।
यो प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत र बाहिरी क्रिकेट खेलाडीहरु सहभागी छन् ।
प्रतियोगिताको टाइटल स्पोन्सर ट्वान्टी फष्ट रेष्टो, पेप्सीकोला, इभेन्ट स्पोन्सर ई हब इन्टरनेशनल कन्सल्टेन्सी, मुख्य प्रायोजकमा जीसीडी एच आर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र तिनकुनेस्थित आइएसएमटी कलेज छन् ।
आयोजक संस्थाले पहिलोपल्ट यस किसिमको उपत्यकाव्यापी प्रतियोगिता गर्न लागेको हो ।
उक्त संस्था चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो । इन्डोरको फुल कोर्टमा यसरी हुन लागेको यो सम्भवतः मुलुकमै पहिलोपल्ट हो ।
प्रतियोगिताको विजेताले नगदसहित प्रमाणपत्र र अवार्ड पाउनेछन् ।




-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
