काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले मंकीपक्सको सङ्क्रमणबाट जोगिन सरकारले कुनै कदम नचालेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस सङ्क्रमण महामारीको विषयलाई लिएर सरकारले कुनै चासो नदेखाएको बताउनुभएको हो ।
२३ जुलाईमा विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्सको सङ्क्रमणलाई लिएर विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको स्मरण गर्नुहुँदै उहाँले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनभयो ।
विश्वभर १८ हजार १९४ जना मंकीपक्सका सङ्क्रमित रहेका र पाँच जनाको मृत्यु भइसकेको भन्दै सांसद भट्टराईले सीमा नाकासहितका स्थानमा सावधानी नअपनाएको बताउनुभयो।
साथै मङ्गलवार बिहानसम्म काठमाडौँ उपत्यकामा ३४ जना हैजाका बिरामी रहेका र हैजा नियन्त्रणमा पनि सरकारले कुनै काम गर्न नसकेको उहाँको आरोप छ ।
पछिल्लो केही दिनयता कोरोनाभाइरस सङ्क्रमण पनि बढ्दै गएको भन्दै उहाँले कोभिड नियन्त्रणका लागि पनि सरकारबाट कुनै काम नभएको बताउनुभयो । तत्काल मंकीपक्स, हैजा र कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि आवश्यक कार्य गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
