यो देश दर्शनको हो अति सुन्दर पाटो
तर दर्शनार्थी हिँड्न छैन सहज बाटो
हरपल खै लड़ाई नै छ सत्तासिनहरुमा
देशहेर्ने फुर्सद खै सुङ्घने कहिले माटो
कतै हिमाच्छादित शैलहरु झलमलै छन
कतै पीयूष धार छङ्ग छङ्ग गरी बग्छन
कतै यार्शा खेती प्रकृतिको सुन्दर बारी
कतै जडी बुटीका औषधिका छन घारी
बनाउन चाहनेलाई यति सानो यो मुलुक
गफाडीको अड्डा झै किन भयो हो मुलुक
विश्व घुम्दा पनि देशको सौन्दर्य प्यारो
माटो मगमगाउँछ यो छाती भिज्छ सारो
म नेपाली मेरो देशको हरेक भाग पुगौ
नेपालीका सुख दुःख नजिकबाट बुझौ
गरिवी निवारणका उपायहरु नै शोचेर
देशको समुन्नतिकालागि उद्योग खोलौ
युवा जोश,जॉगर, ज्ञान बोकी परदेशमा
कहिले गर्ने देश विकास र पुग्ने यो बाटो
यो भन्दा सुन्दर र शान्त देश कतै भेटिन्न
तर पुग्न सहज छैन पथहरु यहाँको बाटो
अव देश विकासका उपायमात्र शोचौँ
सिमा कहाँ हराएकोछ भेटी जतन गरौ
यो मुलुक सहिदको रगतको ऋणी छ
वीरहरुको वीरताको त्यागको गुणी छ
यसैले यो हिमचुली र शैल शिखर भूमि
यसलाई सुन्दर शान्त पारी सजाऊँ जुनी
कता पाइन्छ यस्तो देश बनाउने सौभाग्य
यस्तो देशको गरिमा सजाउने अहोभाग्य
अलिकति कालिन्चोकलाई नै बिन्ति गरेँ
अलिकति मुक्तिनाथलाई सुटुक्क भने
बादलु र आकासलाई नि साथ देऊ भने
विहानीको घामका किरण पैँचो नै मागेँ
देश दर्शनलाई खुलोस समृद्धिको द्वार
घुम्न सकौ चुम्न पाऊँ देश यो वारपार
नदी नाला खोला नाला झर्नामा बगौ
देशको माटोसित नजर मिलाइ बोलौ
।
- शुभा
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
