• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भेरी अस्पतालमा दुई जना डेङ्गुका बिरामीको मृत्यु


  • खुला नेपाल
  • बिहिबार, भदौ २३, २०७९
  • 3.3K
    SHARES

काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधवार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण श्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने क्रम बढिरहेका छन् ।

पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिन सक्ने डा चापागाईँले बताउनुभयो । बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

समुदाय स्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया